खाणद्वारा भण्डारी र एमालेको संविधान विपरितको हर्कतको भण्डाफोर

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको बताएका छन् ।

बुटवलमा आइतबार आयोजित कार्यक्रममा नेपालको संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने लेखेको भएपनि अहिले विधेयक रोकिँदा लाखौं नागरिक अनागरिक बनेको र त्यसको उल्लंघन संविधानका संरक्षकबाट नै भएको बताए ।

उनले राष्ट्रपतिको नाम नलिएपनि संविधानको संरक्षकबाट विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको सबैले बुझेको बताए ।

गृहमन्त्री खाणले २०७८ जेठ ९ गते खड्गप्रसाद ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरूले जस्ताको तस्तै अगाडि सारेको समेत बताए ।

‘एक जना पनि नागरिकले नागरिकताविहीन हुँदा गृहमन्त्रीको नाताले मैलै जवाफ दिनुपर्छ’, उनले भने, ‘नागरिकताको पर्खाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरू जवाफदेही हुनुपर्दैन ।’

उनले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाएको बताए । उनले नागरिकता नहुँदा शिक्षादेखि बैंकमा खाता लिनबाट समेत बञ्चित हुनुपरेको बताए ।

गृहमन्त्री खाणले मंसिर ४ गते हुने निर्वाचन स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै खर्च जोगाउन एकैपटक निर्वाचन गर्ने निर्णय भएको बताएका छन् ।

एमालेको उक्साहटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक जारी गर्न अटेर गरेको भनेर आरोप लागेका बेला गृहमन्त्री खाणले पनि संविधानमाथि अतिक्रमण भएको जनाएका छन् ।

Published : Monday, 2022 September 26, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया