सर्लाहीमा हत्या गरेर शव गायब पार्ने प्रयास, जमीनमुनि भेटिए वडाध्यक्ष

ईश्वरपुर । सर्लाही जिल्लामा एमालेका नेता समेत रहेका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ ।

शुक्रबार राति ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्ष श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

ईश्वरपुर नगरपालिका–३ मा रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिएका छन् ।

पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको हुन सक्ने नगरप्रमुख देवकोटाले आशंका गरेका छन् । देवकोटाले प्रहरीले घटनाको अनुसन्धान गरेको भन्दै सत्यतथ्य छिट्टै बाहिर आउने बताए ।

पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए ।

पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट विवाद समेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी कुँवरले जानकारी दिएका छन् ।

खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको डीएसपी कुँवरले बताएका छन् ।

जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको पाइएको डीएसपी कुँवरले बताएका छन् ।

हत्यापछि वडाध्यक्ष श्रेष्ठको शवलाई ठेकेदार दाहाल र चालक तामाङ मिलेर गाडेका थिए ।

शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको डीएसपी कुँवरले बताए ।

स्थानीय र प्रहरीको पहलमा करीव १० घण्टापछि जमीनमुनिबाट पुरिएको अवस्थामा वडाध्यक्ष श्रेष्ठको शव बाहिर निकालिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Published : Saturday, 2021 June 26, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया