सहकारीको रकम ठगीमा मुछिएका गृहमन्त्री लामिछानेको नेतृत्वलाई चुनौती दिने गरी काठमाडौंमा युवकको हत्या

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेले शान्ति सुरक्षाको कमाण्ड सम्हालेका बेला काठमाडौंमा धारिलो हतियार प्रहारबाट २४ वर्षीय युवकको हत्या भएको छ ।

शनिबार राति काठमाडौं महानगरपालिकाको गौशालामा डेरा गरी बस्ने सुनसरीको इटहरी उप–महानगरपालिका घर भएका शम्भु धितालको कुटपिट गरी हत्या गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हत्याको अभियोगमा काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने १८/१८ वर्षीय ४ जना किशोरहरूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–९ कुमारी मन्दिर नजिक शम्भु धिताललाई अपरिचित ३/४ जना व्यक्तिहरूले हतियार प्रहार गरी फरार भएका थिए ।
शम्भु धिताललाई हतियार प्रहार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट पक्राउ गरेको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका शम्भु धितालको केएमसी अस्पताल सिनामङ्गलमा उपचारको क्रममा मृत्यु भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उता, दाङको घोराही उप–महानगरपालिका–१० पहेलपार बस्ने ५० वर्षीया जुपली बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ चनाबारी बस्ने ४४ वर्षीया संगिता सुनारको हत्या गरेको अभियोगमा घोराही उप–महानगरपालिका–१७ चौघेरा बस्ने रोल्पाको थवाङ गाउँपालिका–२ घर भएका ५७ वर्षीय टेकबहादुर घर्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुपली बुढाको घरको भान्छा कोठामा निज जुपली बुढा र संगीता सुनारलाई टेकबहादुर घर्तीले टाउकोमा बन्चरो प्रहार गरी कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Sunday, 2024 May 12, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया