यी हुन् कोरोना जित्ने प्रतिरोधी जडीबुटीहरू

डा. हेमराज कोइराला

विश्व आज कोरोना महामारीको चंगुलमा फस्दै गइरहेको छ। रोगलागेका मध्ये ३ प्रतिशत बिरामी हरूको मृत्युवरण भइसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचार का कुनै पनि औषधि एवं भ्याक्सिन बनिनसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन। यो रोगको संक्रमणको कारणले मर्ने हरूको तथ्यांक हेर्दा अधिकांश ९९ प्रतिशत मान्छेहरूको प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर रहेको र अन्य रोगहरू जस्तै मधुमेह, मृगौला रोग, क्यान्सर, दम खोकी मोटोपन, मुटुरोग, अनियन्त्रित कोलेस्टेरोल, वात, अटोईम्यून जस्ता समस्याले ग्रस्त भएको पाइयो र यो तथ्यले के पनि पुष्टि गर्दछ भने जसको प्रतिरक्षा प्राणाली कमजोर छ उसैलाई कोरानाको समस्या ले ज्यादा आक्रान्त पार्दछ र मृत्यु हुन सक्दछ । यस परिपेक्षमा यो रोगलाई जित्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मजवुत पर्नुपर्ने हुन्छ। प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र कोरोना संक्रमण लाइ रोक्न निम्न लिखित जडिबुटी हरूलाई निम्न लिखित विधिले उपयोग गर्न सकिन्छ।

के के हुन ती जडिबुटीहरू ?

गुर्जो, दालचिनी, मरिच, जेठी मधु, पिप्ला, जीरा, धनिया, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि मध्य कुनै एकको उपयोग गर्न सकिन्छ ।

यी जडिबुटी हरूको उपयोग कसरी गर्ने ?

. गुर्जोको उपयोग गर्दा आफ्नो बित्ताले एक बित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठ लाई राति सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोली पल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडूची चुर्ण) प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडूची चुर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस् ।

. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउँदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्यापसुल राति सुत्ने बेलामा खादाँ पनि रोग प्रतिरोधक क्षमता बढ्दछ ।

. जीरा, धनिया, बेसार, लसुन, ज्वानो जस्ता मरमसला एवं जडिबुटीहरूलाई खानामा समाबेस गरौ वा यी जडिबूटिहरूकाे एक चम्चा धुलाेलाई २ गिलास पानीमा हालेर उमालेर पिउँदा पनि काेराेना प्रतिकार गर्नमा मद्दत पुर्‍याउँदछ।

. जडिबुटी काँडाको प्रयोग: आधा लीटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ ग्राम सूठो, १ ग्राम दालचिनी, एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस । सबै जडिबुटीहरू मजाले पाकीसके पछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुस् । यो काढाले प्रतिरक्षा प्रणलीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला बसेको, घाटी दुखेको, निको पार्दछ ।

. अचानक रुघामर्कीले सताई हाल्यो भने मरिच, सूठो र सख्खरलाई एकसाथ उमालेर चूल्होबाट निकालीसके पश्चात ताताे घोलमा एउटा असूरोको पातलाई राम्रोसंग धोएर स-साना टुक्रा बनाएर उक्त घोलमा हालेर छोपी दिनुहोस् । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुहोस् ।

. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चूर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास् । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस् ।

. एक चम्चा जेठीमधु चूर्णलाइ आधा चम्चा मरिच, सूठाेे, र पिप्लाकाे संयूक्त मिश्रणमा मिसाएर आधा लिटर पानीमा हालेर उमालेर पिउदै गर्नुहाेस् ।

. एक गिलास दुधमा १ देखि २ ग्राम शुद्ध बेसार हालेर राति सुत्ने बेलामा पिउनुहोस । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।

. आधा आधा घण्टामा एक – एक गिलास मनतातो पानी पिउँदै रहनु होला ।

. ज्वानोको झोल – तात्तातो ज्वानोको झोलले पनि मुख एवं घाँटीमा रहेका व्याक्टेरिया एवं भाइरस मार्न मद्दत गर्दछ ।

(लेखक भरतपुर महानगरपालिका १ वागीश्वरी चितवन स्थित याेगी नरहरिनाथ याेग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्)

Published : Monday, 2021 April 26, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया