कोरोनापछि त्रासमुक्त भएको नेपालमा विदेशी महिलामा मंकीपक्स देखियो

काठमाडौं । नेपालमा पहिलो पटक एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स रोग देखिएको छ ।

स्वास्थ मन्त्रालयले शुक्रबार मंकीपक्स नेपालमा देखा परेको जनाएको छ । नेपालमा घाउ/पानी फोकाहरू देखिएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन । एमपक्स समुदायस्तरमा फैलिएको यकिन तथ्यांक भने आउने सम्भावना कम देखिएको छ ।

यो कसरी सर्छ भन्ने जानकारी भए थप फैलनबाट रोक्न भने धेरै मद्दत मिल्नेछ । गत वर्ष भारतमा ‘एमपक्स’ समुदाय स्तरमा देखिएसंगै लेखकले नेपालमा पनि ढिलो/चाँडो देखिन सक्ने आँकलन गरेको थियो ।

अफ्रिकी महादेश बाहिर देखिएको ‘एमपक्स’ कम घातक मानिएको छ । कम्तिमा पनि ११२ जनाको ज्यान यो भाइरसको कारणले गएको विश्व स्वास्थ संगठनले जनाएको छ ।

सङ्क्रमितहरूमध्य सबैभन्दा बढीमा शरीरको विशेषत गुप्ताङ्ग/गुद्वारमा घाउ/पानी फोकाहरू देखिएको प्रतिष्ठित मेडिकल जर्नल न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानले देखाएको छ ।

ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने, जिउ दुख्ने आदि एमपक्स संक्रमितमा देखिने थप लक्षणहरू हुन् । लामो समय आमने सामने कुराकानी गर्दा (जस्तै, मुखको छिटाबाट) यो रोगको संक्रमण सर्न सक्छ । यौन/गुद्वार सम्पर्कबाट पनि यो रोग सर्न सक्छ । संक्रमितले प्रयोग गरेका सर–समानबाट (जस्तै कपडा, सिरिन्ज आदि)का कारण पनि रोग सर्न सक्छ । संक्रमितको घाउ/फोकाको तरल पदार्थबाट पनि सर्न सक्छ ।

संक्रमण भएको १ देखि २१ दिन सम्ममा एमपक्सको लक्षणहरू देखिने गर्दछ । २ देखि ४ हप्तासम्ममा अधिकांश संक्रमितले स्वास्थ लाभ गरिसक्ने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो । मन्त्रालयका सह–प्रवक्त डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरेर मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका हुन् ।

विज्ञप्ति अनुसार एक जना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो । ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो । ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स सङ्क्रमण पुष्टि भएको हो’, विज्ञप्तिमा भनिएको छ ।

मंकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ । मंकीपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ ।

मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ ।

मन्त्रालयले मंकीपक्सको संका लागेमा १११५ वा ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । कोरोना महामारीका कारण लामो समयसम्म त्रासमा बसेका नेपालीहरूले केही महिना यता राहत महशुस गरिरहेका थिए । यस्तो अवस्थामा मंकीपक्स भाइरसको संक्रमण देखिएपछि चिन्ताको विषय बनेको छ ।

Published : Saturday, 2023 June 17, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया