राजधानीबाट जुवाडेका नाइके पक्राउ, ठूलो अबैध रकम बरामद

भक्तपुर । प्रहरीले काठमाडौंमा जुवा खेलाउने र खेल्ने नाइके सुमन घिमिरेलाई ठूलो रकमसहित पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुमन घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

घिमिरेसँगै प्रहरीले काठमाडौं माकलबारी बस्ने दोलखाकै बैतेश्वर गाउँपालिका– ६ घर भएका ३७ वर्षीय विनोद तामाङलाई पनि पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपियाँ र विभिन्न बैंक चेकसहित पक्राउ गरेको उल्लेख गरेको छ ।

‘जुवातास खेलाई सोबाट आर्जन गरेको नगद लिएर हिँडिरहेका छन्’ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको थियो ।

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा.२१ च ३८३९ नम्बरको कारलाई जाँच गर्दा प्रहरीले तामाङलाई स्रोत नखुलेको २७ लाख रुपियाँसहित नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट घिमिरेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घिमिरेको बालकोटस्थित कोठाबाट थप १५ लाख ३० हजार रुपियाँ फेला पारेको छ ।

घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपियाँ लेखिएको राष्ट्रिय बाणिज्य बैंकको चेक १ थान, ९ लाख ५० हजार रुपियाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्याण्र्ड चार्टर बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपियाँ लखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपियाँ लखिएको महालक्ष्मी विकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपियाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका घिमिरे उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंमा मुद्धा दर्ता छ ।

घिमिरेविरुद्ध नै २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्ग र बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पति सुद्धीकरण विभाग पुल्चोक, ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घिमिरेको उच्च राजनीतिक र प्रशासनिक निकायमा कनेक्सन रहेको भेटिएको छ । कनेक्सन भएकै कारण घिमिरे पटक–पटक पक्राउ परेर पनि छट्दै आएका थिए ।

Published : Friday, 2021 March 12, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया