तनहुँमा वीपीको सम्झनामा वृक्षरोपण र नदी कटान नियन्त्रण

तनहुँ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस भीमाद नगरपालिकाको आयोजनामा मंगलबार वृक्षरोपण एवम् नदी कटान नियन्त्रणको थालनी गरिएको छ ।

भीमाद नगरपालिका वडा नं. ८ स्थित अरौंदी बजारमा १०० वर्षअघि समाजसेवी मोतीराज खनालले स्थापना गरेको समीको वृक्षसहितको चौतारो क्याङदी खोलाले कटान गरेपछि सोही स्थानमा मंगलबार समीको बिरुवा लगाइएको नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनालले जानकारी दिए ।

विगतमा भानुमति र भीमाद आसपासका विभिन्न सभा समारोह स्थलका साथै यस क्षेत्रका सर्वसाधारण भेला भई विकास निर्माणका योजना बनाउने मुख्य प्रतीकका रुपमा चौतारो रहेको स्थानीयवासी बताउँछन् ।

क्याङ्दी खोलाले वर्षेनी कटान गरिरहेको अवस्थालाई दृष्टिगत गरी मंगलबार खोला आसपासका क्षेत्रमा विभिन्न जातका ४० भन्दा बढी विरुवा रोपिएको जानकारी दिदै उनले अरौंदी बस्तीका लागि १० थान जाली उपलब्ध गराउँदै भर्ने काम समेत गरिएको बताए ।

क्याङ्दी खोलाले प्रदेशस्तरको क्याङ्दी मार्ग र हाइटेन्सन लाइन समेत जोखिममा रहेको उक्त अवसरमा जानकारी दिइयो ।

नेपाली कांग्रेस भीमाद नगरपालिका कार्यसमितिका सभापति आनन्ददेव श्रेष्ठको सभापतित्व एवम् नेपाली कांग्रेस तनहुँका कार्यबाहक सभापति जीतप्रकाश आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन भीमाद नगर समिति सचिव राजेश खनालले गरेका थिए ।

कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष एवम् पार्टीका क्षेत्र नं. २ का सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बालकृष्ण घिमिरे, महाधवेशन प्रतिनिधि मिलन आले लगायतले वीपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता, राष्ट्र र राष्ट्रियताका पक्षमा गर्नुभएको योगदान अतुलनीय भएको बताए ।

Published : Tuesday, 2020 July 21, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया