सहकारी ठगका आरोपी गृहमन्त्री र प्रचण्डबारे निर्णय गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका आरोपी गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समितिको माग राख्दै आएको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार सूचना जारी गरेर कांग्रेसले सोमबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको छ ।

संसदीय दलको बैठक बस्नु भन्दा अगाडि कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संसद भवन नयाँ बानेश्वरस्थित संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ ।

गृहमन्त्री लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा संसदीय छानविन समिति बनाउने क्रममा कार्यदेशमा सहमति हुन सकेको छैन । सत्तापक्षले गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरेर समिति बनाउनुपर्ने अडान राखेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय समितिले छानविन गर्नुपर्ने माग राख्दै आएको छ ।

उता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको संसद बैठकबाट विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिन दिने वा नदिने ? भन्ने विषयमा पनि कांग्रेसले निर्णय गर्नेछ ।

Published : Sunday, 2024 May 19, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया