कालीकोटले सम्झियो वीपीलाई, दिए ठूला नेताहरूलाई सबक सिक्न सुझाव

नमराज योगी

मान्मा । नेपाली कांग्रेस कालीकोटले वीपी कोइरालाको ३८औँ स्मृति दिवस भव्य रुपमा मनाएको छ ।

खाडाचक्र नगरपालिका वडा नं. १ मा मंगलबार कालीकोट कांग्रेसले वीपी कोइरालाको स्मृतिमा वृक्षारोपण गरि स्मृति दिवस मनाएको हो । कालीकोटका कांग्रेसका सभापति हर्षबहादुर बमले वीपीले देखाएको बाटोमा नेता तथा कार्यकर्ताहरू हिँड्नुपर्ने बताए ।

सभापति बमले कांग्रेसका शिखर पुरुष भनेर चिनिएका वीपी कोइरालाले लोकतन्त्रको रक्षाका लागि देखाएको बोटोलाई आत्मसाथ गर्नुपर्ने बताए । उनले लोकतन्त्रका लागि जनता जागरुक हुनुपर्ने उल्लेख गरे ।

सभापति बमले भने, ‘वीपी कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटो जनाताको हित र संरक्षणमा छ । समानताको बाटोमा कांग्रेस सदैव क्रियाशील छ ।’

‘नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक वीपी कोइराला कांग्रेसका संस्थापक नेता भएकाले पनि उहाँले देखाएको बाटोलाई कालीकोट कांग्रेसले कहिल्यै भुल्ने छैन’, सभापति बमले भनेका छन् ।

नेपाली कांग्रेस प्रदेश क्षेत्र नम्बर ‘२’ का क्षेत्रीय सभापति दमनबहादुर शाहीले ०१६ सालमा वीपी प्रधानमन्त्री हुँदा गरिव जनताको प्रतिनिधिका रुपमा आएको बताए ।

वीपी कोइराला आफूले खार्दै आएको तलब र भत्ता २ हजार पाँच सयबाट १ हजार पाँच सय बनाएको स्मरण गर्दै शाहीले मन्त्रीहरूले खाँदै आएको तलब १ हजार पाँच सयबाट १ हजारमा ल्याएको बताए । उनले वीपीले त्यस बेला देखाएको उदारता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘आफ्नो तलबभत्ता आफै घटाउने पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ’, शाहीले भने, ‘अहिले सत्तामा गएका नेताहरू आफूले खाइपाइ आएको तलब र भत्ता नपुगेर भ्रष्टाचारमा लिप्त रहेका छन् ।’

वृक्षारोपण कार्यक्रममा पार्टी सचिव नन्दबहादु सिंह, यशोदा शाही, महासमिति सदस्य हिक्मतबहादुर विष्ट, सुशीला बम, कांग्रेस नेता पदमबहादुर शाही, हर्षबहादुर शाही, विष्णुबहादुर शाही, नेविसंघ, तरुण दल, शिक्षक संघ, प्रेस यूनियन लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2020 July 21, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया