जाेखिम माेलेर काम गरिरहेका पत्रकारकाे समस्याप्रति कांग्रेस गम्भीर छः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसंग छलफल सम्पन्न गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुई हजारभन्दा पत्रकारले रोजगारी गुमाउनुपरेको तथा सात सयभन्दा बढि सञ्चारमाध्यम बन्द भएको बताए ।

उनले कोरोना महामारीको कारण देखाउदै नाफामा रहेका सञ्चारगृहले समेत पत्रकारलाई रोजगारबाट बञ्चित गर्ने श्रम शोषण गरेको भन्दै त्यसका बिरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले पत्रकारलाई पेशाबाट बञ्चित गरिएकोप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति रहेको बताए ।

उनले पत्रकार जनताको पिर मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्य सदैब लागिरहेको हुँदा पत्रकारको समस्या समग्र देशको समस्या रहेको बताए । उनले पत्रकारको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धीत संचारगृहले गम्भीरतापूर्वक लिनपर्नेमा जोड दिए ।

उनले पत्रकार महासंघको साथमा कांग्रेस सधै रहेको र रहिरहने विश्वास दिलाउदै अहिलेको अवस्थामा महासंघले गरिरहेको कामको प्रशंसा गरे ।

महासंघका पूर्व सभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुःख व्यक्त गरे । उनले विस्थापित पत्रकार तथा सञ्चारगृहलाई संरक्षण गर्ने सरकारको कुनै चासो नदेखिएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोरोना अनुगमन समितिका सदस्य डा. चन्द्र भण्डारीले कोरोना विपदको यस घडिमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निश्काशन गर्नु अत्यन्तै अमानवीय घटना भएको बताए ।

उनले संचार जगतले प्रतिपक्षको भन्दा ठ२लो भूमिका निर्वाह गरेको भन्दै यस क्षेत्रमा संकट आउनुले प्रजातन्त्रमै खतरा भएको बताए ।

त्यसैगरी कांग्रेसका नेता एनपी साउदले अहिलेको परिस्थितीमा सबै बाँच्ने र सबैलाई बचाउने शैलीबाट काम गर्नुपर्नेमा जोड दिदै कांग्रेस सधै पत्रकारहरूको पक्षमा रहेको बताए ।

साउदले कोरोना प्रभावित क्षेत्र तथा समुदायसंग साथ र सहयोगका लागि उक्त समितिको स्थापाना गरिएको बताए ।

यस्तै अर्का सदस्य तथा नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले यो अनुगमन समितिले कोरोनाबाट प्रभावित विभिन्न क्षेत्र तथा समुदायसंग छलफल गरिरहेको भन्दै पत्रकारको समस्याप्रति गम्भीर रहेको बताए ।

त्यस्तै अर्की सदस्य तथा डा.माधवी भट्टले सरकारले आफुमाथि बिरोध बन्द गर्ने मनसायका कारण पत्रकारका समस्याप्रति सरकार मौन रहेको बताइन् ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेशा जस्तो देखिएको भएतापनि कोरोनाका कारण यो पोशामा गम्भीर संकट देखिएको बताए ।

उनले केही संचारगृहले पत्रकारलाई पेशाबाट बञ्चिर गरेको भन्दै पत्रकारको रोजिरोटिका लागि आन्दोलन गर्न बाध्य भएको बताए । उनले कोरोना भाइरस महामारीका अवस्थामा राज्यले पत्रकार तथा संचार क्षेत्रका संरक्षणका लागि कुनै पहल नगरेको भन्दै दुःख व्यक्त गरे ।

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकारका कारण संचार संचालकहरु विगता ठूलो धन राशि जोड्न सफल भएको भन्दै कोरोनाको बाहानामा पत्रकारलाई पेशाबाट निश्काशन गर्नु अत्यन्तै दुखद् रहेको बताए ।

उनले पत्रकारका समस्याप्रति सरकारले गम्भीर चासो दिई साचारमाध्यमलाई व्यवस्थित गर्ने उपयुक्त समय रहेको बताए ।

नेपाल पत्रकार महासंघ, उपत्यका समितिका महासचिव श्रीजन झाले कोरोना भाइरसको महामारीका कारण पत्रकारहरू चौतफी मारमा परेको बताउदै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले कोरोनाको बाहानामा विभिन्न संचारगृहबाट दश जना भन्दा बढि पत्रकारलाई जागिरबाट निश्काशन गरिएको बताए ।
पत्रकारको हितमा लड्दा आफुलाई समेत उपत्यका बाहिर सरुवा गरिएको बताए ।

Published : Monday, 2020 July 20, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया