ललितपुरमा गोदावरीका कार्यकारी अधिकृत र सव–ईञ्जिनियर घुससहित पक्राउ

काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसी र सव–ईञ्जिनियर किशोरकुमार मोक्तान घुसको रकमसहित पक्राउ परेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले कार्यकक्षबाट घुसको रकमसहित नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

गोदावरी नगरपालिका वडा नम्बर ११, बज्रबाराहीस्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) जैसी र सव–इञ्जिनियर मोक्तानलाई अख्तियारको टोलीले घुसको रकमसहित पक्राउ गरेको हो ।

निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस–रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको टोली स्टिङ अप्रेशनमा खटिएको थियो ।

जैसी र मोक्तानलाई सेवाग्राहीबाट एक लाख पचास हजार घुसररिसवत बापतको रकम लिएको अवस्थामा उनीहरूकै कार्यकक्षबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2020 July 20, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया