कम्युनिस्टकरणविरुद्ध नेविसंघले त्रिविमा लगायो ताला

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा ताला लगाएको छ ।

नेविसंघले विरोधमा सोमबार ती स्थानहरूमा ताला लगाएको हो । त्रिविले हालै गरेका नियुक्तिहरू मापदण्डविपरीत रहेको नेविसंघ त्रिवि समितिको आरोप छ ।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले त्रिविमा राजनीतिकरण गरेपछि ताला लगाउनु परेको जनाएका छन् ।

विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरू भर्ती गरेको आरोप नेविसंघको छ ।

विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालय मापदण्ड अनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी रावलले गराएका छन् ।

नेविसंघसँग त्रिवि पदाधिकारीले वार्ता नगरेको भन्दै बाध्य भएर ताला लगाउनुपरेको रावलले बताएका छन् ।

उनले विश्वविद्यालय मापदण्डअनुसार निष्पक्षताका आधारमा रिक्त पदपूर्ति गर्न पनि माग गरेका छन् ।

नेविसंघले आफ्ना माग यसअघि उपकुलपतिलाई ज्ञापन पत्रमार्फत् बुझाए पनि वेवास्ता गरेको आरोप लगाएको छ ।

Published : Monday, 2020 July 20, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया