कांग्रेस सभापति बस्नेतको संयोजनमा जम्बु र खागदलका ५० घरलाई लत्ताकपडा सहयोग

निरोज चौलागाईं

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जम्बु र खागदलका बाढीपहिरो प्रभावित ५० परिवारलाई लत्ताकपडा सहयोग गरिएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको समन्वयमा बाढीपहिरो पीडितलाई सहयोग गरिएको छ । बस्नेतले यसअघि पनि सहयोग गरिसकेका छन् ।

असार २५ गते आएको यल्मो खोला र खागदल खोलाले घर बगाउँदा पीडित बनेकाहरूलाई सिरक, डसना, तन्ना, तकिया लगायत लत्ताकपडा उपलब्ध गराएको हो ।

बाढीबाट प्रभावित बनेका उनीहरूलाई लत्ताकपडाको समेत समस्या परेको थियोे ।

खागदलका पीडितहरू पहिरो र बाढीमा सबै कुरा पुरिएपछि समस्यामा परेका थिए ।

बाढीपहिरो पीडितसँग लगाएको कपडा बाहेक केही पनि थिएन ।

स्थानीय टुलबहादुर श्रेष्ठले भने, ‘हामीलाई लत्ताकपडा पनि आवश्यक छ । अहिले ईश्वर खत्री लगायतको टिमले हामीलाई गरेको सहयोगप्रति खुसी भएका छौँ ।’

बाह्रबिसे नगरपालिका ५ का स्थानीय ईश्वर खत्री लगायतले आइतबार लत्ताकपडा सहयोग गरेका छन् ।

Published : Monday, 2020 July 20, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया