खोटाङमा नौ लाख घुसको रकमसहित हाकिम पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खोटाङ जिल्लामा सरकारी कार्यालयका एकजना हाकिमलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियारको टोलीले ९ लाख ३४ हजार घुससहित पक्राउ गरेको हो ।

श्रेष्ठलाई कार्यालयसँगै रहेको निवासबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

जिल्लाकै निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियारको कार्यालय टंगाल काठमाडौंबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार नौ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको थियो । श्रेष्ठलाई काठमाडौं ल्याइएको छ ।

श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राहीबाट अख्तियारमै उजुरी पुगेको जनाइएको छ ।

Published : Sunday, 2020 July 19, 6:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया