प्रहरीका असईको काठमाडौंमा मृत्यु, सेनाको गाडीले दियो ठक्कर

काठमाडौं । काठमाडौंमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

काठमाडौंको सुकेधारामा रहेको हिमाल डेन्टल अगाडि शनिबार साँझ दुर्घटना हुँदा असई प्रेमराज पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडेलले चलाइरहेको मोटरसाइकल स्कुटीसँग ठोक्किएको थियो । त्यस लगत्तै नेपाली सेनाको पानी बोकेको ट्यांकरले ठक्कर दिएको थियो ।

सुकेधाराबाट चाबाहिलतर्फ आउँदै गरेको प्र ३–०२–००३ प ४१५० नम्बरको स्कुटर र सुकेधारातर्फ जाँदै गरेको पौडेल सवार बा ७४ प २८६१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

लगत्तै चाबहिलबाट सुकेधारातर्फ जाँदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हेडक्वाटर भद्रकालीको पानी ट्याङकर पनि ती दुई सवारीसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन वटै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । महाशाखाका अनुसार स्कुटरका चालक चण्डोल बस्ने सरद सिग्देलसँग कागजपत्र थिएन ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

पानी ट्याङकीका चालक पाँचथर घर भई आर्मी हेडक्वार्टरमा कार्यरत ३५ वर्षीय धवेन्द्र खत्रीलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

सुर्खेत घर भएका असई पौडेल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभाग प्रशासन शाखामा कार्यरत थिए ।

Published : Sunday, 2020 July 19, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया