कांग्रेसका खतिवडाले भनेकै ठाउँमा आइपुग्यो संसद सचिवालय, सुध्रियो ‘लोगो’को हुलिया

काठमाडौं । संसद सचिवालयले वितरण गरेको संविधान सभाका सभासदहरूको ‘लोगो’प्रति नेपाली कांग्रेसका सभासद रामहरि खतिवडाले विरोध गर्दै आएका थिए ।

संविधान जारी भएपछि संसद सचिवालयले सभासदहरूलाई नेपालको नक्सा र नेपाल नै नलेखेको ‘लोगो’ उपलब्ध गराएको थियो । त्यो ‘लोगो’ ‘एनजिओ’को जस्तो भनेर विरोध गर्दै आएका खतिवडाले सोही बेला नै संसद सचिवालयसँग असहमति जनाएका थिए ।

‘लोगो’प्रति असहमति जनाएर कांग्रेसका सभासद खतिवडाले संसद सचिवालयले दिएको ‘लोगो’ लगाएका थिएनन् । अब भने खतिवडाले संसद सचिवालयले दिने ‘लोगो’ लगाउने भएका छन् । नेपालको नक्सा नै नरहेको त्यस बेलाको ‘लोगो’को धेरैले आलोचना गरेका थिए ।

तत्कालीन सभामुख ओनसरी घर्ती र महासचिव मनोहरप्रसाद भट्टराईसँग पनि खतिवडाले ‘लोगो’लाई लिएर असन्तुष्टि जनाएका थिए । उनकै दवावमा त्यस बेला संविधानसभाको ‘लोगो’ परिवर्तन भएको थियो ।

‘संविधान जारी भएपछि नेपालको नक्सा पनि नभएको, नेपाल पनि नलेखिएको, किताव र संविधान सभा मात्रै लेखिएको लोगो दिइएको थियो’, खतिवडाले भने, ‘त्यसलाई सुधार गरेर नेपालको नक्सा, नेपाल लेखेको लोगो उपलब्ध गराउन मैले पटक पटक अनुरोध गरेको थिएँ । अब संसद सचिवालयले त्यसमा सुधार गर्ने जनाएको छ । सुधार पनि शुरु गरेको छ ।’

खतिवडाले पटक–पटक ‘लोगो’मा सुधार गरेर वितरण गर्नुपर्ने माग गरेका थिए । खतिवडाले त्यस बेला सभामुख कृष्णबहादुर महरा र महासचिव मनोहरप्रसाद भट्टराईसँग पनि असन्तुष्टि जनाएका थिए । अहिले महरा र भट्टराई दुबै छैनन् ।

तर, समय यसरी परिवर्तन भयो कि कांग्रेसका खतिवडाले नै भनेको अवस्थामा संसद सचिवालय आइपुगेको छ । संसद सचिवालयले सभासदहरूलाई नयाँ ‘लोगो’ उपलब्ध गराउने भएको छ ।

अहिलेका सभामुख अग्निप्रसाद सापकोटा र महासचिव भरतप्रसाद गौतमले वितगको गल्तीलाई सुधार गरेर सभासद र सांसदहरूको लोगो नयाँ बनाएका छन् । यसप्रति कांग्रेसका सभासद खतिवडाले धन्यावाद समेत दिएका छन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा रहेको नेपालको नक्साहितको नयाँ ‘लोगो’ संसद सचिवालयले सभासदहरूलाई दिने तयारी गरेको छ ।

कांग्रेसका नेता खतिवडाले नयाँ संविधान जारी भएर संविधान सभाको समय समाप्त भएपछि आफूले पाएको कुटनैतिक राहदानी (रातो पासपोर्ट) पनि संसद सचिवालयमा भरपाइ गरेर बुझाएका थिए ।

तर, कतिपय सभासदहरूले अहिले पनि रातो पासपोर्ट संसद सचिवालयमा बुझाएका छैनन् । रातो पासपोर्ट दुरुपयोग भएको भनेर समाचारहरू समेत आइरहेका छन् ।

Published : Thursday, 2020 May 28, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया