ओलीजी कांग्रेसले दिएको साथ नभुल्नुस्, अतिक्रमित भूमि फिर्ता गर्नुस्ः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सबैको सुझा र सहमतिमा भारतद्वारा अतिक्रमित भूमि राखेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यावाद दिएका छन् ।

कांग्रेस नेता खतिवडाले बुधाबर ट्वीट गर्दै अतिक्रमित नयाँ नक्सामा राखेमा मात्रै नहुने बताएका छन् । उनले अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकारलाई सुझाव दिएका छन् । त्यसका लागि भारतसँग कुटनैतिक वार्ता गर्न खतिवडाले सुझाव दिएका छन् ।

‘नेपाल सरकारले आफ्नो भूमि भएको देशको नक्सा जारी गर्नु एकदम ठीक हो । सरकारलाई धन्यवाद’, उनले भनेका छन् ।

‘संसदमा क्रान्तिकारी भाषणभन्दा कुटनैतिक रूपमा सबै काम पूरा गरि नक्सा जारी गरेर भाषण ठोकेको भए अझै नेपाली खुशी हुने थिए’, उनले भने, ‘राष्ट्रभक्तिको भाषण त भीम रावलको पनि कम छैन । तर, परिणाम खै ?’

प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतद्वारा लिपुलेक, कालापानी र लिम्पियधुरा राखेर नयाँ नक्सा जारी गरेपछि देशभरि स्वागत भइरहेको छ ।

नयाँ नक्सा जारी गर्न कांग्रेसले पनि ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई सुझाव दिएको थियो ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा राखेर पाँच महिना अगाडि सार्वजनिक गरेको थियो ।

त्यसपछि बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले पनि आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्न ओलीलाई सुझाव दिएका थिए ।

नेपालमा भूकम्प गएका बेला सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनले नेपाली भूमि लिपुलेकबाट व्यापार नाका खोल्ने सहमति गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले चीन र भारतीय राजदूतहरूलाई बालुवाटारमा बोलाएर बिरोध जनाएका थिए । कोइरालाले मोदीलाई फोन गरेर आपत्ति समेत जनाएका थिए ।

लिपुलेकबारे आपत्ति जनाएपछि भारतीय प्रधानमन्त्री मोदीले कोइरालालाई भारत भ्रमणमा बोलाएका थिएनन् । त्यसपछि भारतले कोइरालालाई सिध्याउन विभिन्न षड्यन्त्र शुरु गरेको थियो ।

त्यसको केही समयपछि भारतले नेपालमा नाकाबन्दी लगाएर कोइरालालाई असहयोग गरेको थियो ।

Published : Wednesday, 2020 May 20, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया