काठमाडौं प्रवेशमा रोक, भित्री गल्लीमा निस्किए पक्राउ गर्ने, नयाँ व्यवस्था लागू

काठमाडौं । काठमाडौं उपत्यकाभित्र पनि कोरोना भाइरसका संक्रमतिहरूको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं (सीडीओ)ले शुक्रबारदेखि लकडाउनमा थप कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मूल सडक, भित्री सडक तथा गल्लीहरूमा पनि कडाइ गर्ने निर्णय गरेको जनाएको छ ।

काठमाडौं जिल्ला प्राशसन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले शुक्रबार सूचना जारी गरेर विभिन्न बहानामा सडकमा निस्किने व्यक्तिलाई सुरक्षाकर्मीहरूले पक्राउ गर्न सक्ने बताएका छन् ।

‘काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरूमा विभिन्न बहानामा मानिसहरूको अनावश्यक भिडभाड हुने गरेको पाइएकोले त्यसो नगर्नु हुन अनुरोध छ’, सूचनामा भनिएको छ, ‘अन्यथा सुरक्षाकर्मीहरूले कानून बमोजिम कारबाहीका लागि नियन्त्रणमा लिन सक्नेछ ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरूले आ–आफ्नो नियामक निकायहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

सञ्चारकर्मीहरू तथा मिडिया हाउसहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

नियामक निकाय नतोकिएकाको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सम्पर्क राख्न बढाले अनुरोध गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि विभिन्न मितिमा जारी गरिएका सम्पूर्ण सवारी पास (ई–पास र पहेँलो रङ पास) खारेज गरिदिएको छ ।

शुक्रबारदेखि काठमाडौं जिल्ला प्रशासनबाट जारी हुने सवारी पास निलो रङको हुनेछ ।

निर्माण सामग्री बोकेका गह्रौँ सवारी साधनहरू बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र सञ्चालन गर्न पाइनेछ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री सबै प्रकारका औषधि कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रेलियम पदार्थ, ग्यास, सबै प्रकारका खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, खसी, बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्री बोकेका सवारी साधनहरू पास विना परिवहन हुनेछन् ।

सवारी पासबिना उल्लेखित भएका बाहेकका सवारी साधनहरूलाई पैदल यात्रुहरूलाई काठमाडौं प्रवेश निषेश गरिएको छ ।

Published : Friday, 2020 May 15, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया