कपिलवस्तु कोरोनाको ‘हटस्पट’ बन्न थाल्यो, परीक्षण छिटो गरौँः कांग्रेस नेता मुसलमान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानले कपिवलस्तु जिल्लामा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढेर ‘हटस्पट’ हुँदा समेत सरकारले रोकथाममा ढिलाइ गरेको भन्दै चिन्ता जनाएका छन् ।

बुधबार कांग्रेस नेता मुसलमानले प्रेस नोट जारी गरेर कपिलवस्तु जिल्लामा कोरोना भाइरसका संक्रमितहरूको परीक्षणमा उचित ध्यान दिन सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘कपिलवस्तु जिल्ला कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनिसक्यो । परीक्षण गर्ने विषयमा सरकारले ढिलाइ गरेको छ । छिटो परीक्षणको व्यवस्था गर्नुपर्‍यो ।’

खुला सिमाना भएकै कारण भारतबाट नेपालीहरू प्रवेश गर्ने क्रम बढेको भन्दै ती नेपालीहरूको परीक्षण गरेर मात्रै प्रवेशको व्यवस्था गर्नुपर्ने नेता मुसलमानले माग गरेका छन् । उनले लकडाउनले मात्रै कोरोना भाइरसको संक्रमण रोकथाम नहुने बताएका छन् ।

कपिलवस्तु जिल्लामा पीसीआर पद्धतिबाट परीक्षणको दायरा बढाउन पनि कांग्रेस नेता मुसलमानले माग गरेका छन् । उनले कपिलवस्तुमा कोरोना अस्पताल स्थापना गरेर उपचारको माग पनि गरेका छन् ।

केन्द्र सरकार र प्रदेश ५ को सरकारले कपिलवस्तु जिल्ला हटस्पट बन्दा समेत रोकथाम र उपचारमा जति ध्यान दिनुपर्ने थियो त्यसरी ध्यान दिएको भन्दै कांग्रेसका नेता मुसलमानले चिन्ता जनाएका छन् । उनले भने, ‘कपिलवस्तुमा पीपीआर पद्धतिबाट परीक्षण र उपचारमा ध्यान नदिने हो भने भयाबह अवस्था आउन सक्छ । त्यो अवस्था आउन नदिन सबै मिलेर काम गरौँ ।’

भारतबाट कपिलस्तु जिल्ला हुँदै अर्घाखाँची, गुल्मी, दाङ, प्यूठान, रोल्पा, रुकुमलगायतका जिल्ला जाने नेपालीहरू आउने भएकाले ती जिल्लाको सुरक्षाका लागि पनि कपिलवस्तुलाई केन्द्र बनाइ परीक्षण र उपचार पद्धति अगाडि बढाउनुपर्ने उनको माग छ ।

खुला सिमानाका कारण भारतबाट लुकेर नेपाल प्रवेश गर्नेहरूको कडाइका साथ निगरानी गर्न पनि उनले माग गरेका छन् ।

Published : Thursday, 2020 May 14, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया