कोरोनाबाट बच्न नेपाल छिर्न खोज्ने भारतीयहरूद्वारा प्रहरीमाथि हमला

बारा । नेपाल छिर्न खोजेका भारतीय नागरिकहरूले बारा जिल्लामा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीमा आक्रमण गरेका छन् ।

बिहीबार दिउँसो नेपाल–भारतबीच सीमा जोडिएको बारा जिल्लाको कबहीगोठमा नेपाल छिर्न खोज्ने झण्डै एक सय भारतीयहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।

भारतीयहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले पनि एक राउण्ड हवाई फायर गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

शुरुमा दुई जना भारतीयहरू खेतीपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका थिए ।

सीमामा ड्युटीमा रहेका सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएर आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

भारतीय नागरिकहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा समेत ढुंगामुढा गरेका छन् । भारतीयहरूको ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ ।

भारतबाट नेपाल प्रवेश गर्नेहरूको संख्या बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीहरूबीच छलफल भइरहेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भारतीयहरू ज्यान बचाउन लुकीछिपी नेपाल प्रवेश गर्न खोज्दै आइरहेका छन् ।

Published : Thursday, 2020 May 7, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया