यस कारण ओलीले शासन गर्ने आधार गुमाएः कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको जनाएको छ ।

बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने कार्यमा लागेको निर्णय गरेको हो ।

‘नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

‘एकपछि अर्को गरी भ्रष्टाचारका कार्यहरू भइरहेका छन्’, कांग्रेसले भनेको छ, ‘मुलुक कोभिड १९ को गम्भीर जोखिममा रहेका बेला मेडिकल सामाग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय हो ।’

‘पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्ने कार्य भएको छ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरी सम्म दर्ता गर्न इन्कार गर्नु, सरकारको वदनियत पुष्टि गर्ने घटना हुन्’, नेपाली कांग्रेसले निर्णय गरेको छ ।

‘सामाजिक सन्जालमा सरकार वा सरकारी पदाधिकारीको आलोचना गरेका आधारमा मानिसलाई पक्राउ गर्ने, मुद्दा चलाउने, संचार माध्यममा बोलेको, अन्तरवार्ता लिएको कारणले स्पष्टीकरण सोध्ने, कारवाही चलाउने जस्ता घटनाले वर्तमान सरकार संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता लगायत मौलिक हक अधिकारको खिल्ली उडाउँदै निरंकुशतातर्फ अग्रसर भएको प्रष्ट छ’, कांग्रेसले जनाएको छ ।

‘सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ’, कांग्रेसले जनाएको छ ।

‘सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचन मार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2020 April 30, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया