कम्युनिस्ट र प्रशासनद्वारा पोखरामा कांग्रेस सांसदलाई राहत वितरणमा अबरोध

पोखरा । नेपाली कांग्रेस कास्कीले लकडाउनका बेला राहत वितरणमा राजनैतिक पूर्वाग्रह भएको ठहर गरेको छ ।

कास्की कांग्रेसको बुधबार बसेको कार्यसमितिको बैठकले एकद्वार प्रणालीका नाममा राज्यद्वारा गरिएको राहत वितरणमा विभेद भएको जनाएको हो । कांग्रेसले राजनीतिक पूर्वाग्रही भएर राहत वितरण गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको सभापति कृष्णबहादुर केसीले बताएका छन् ।

कांग्रेसले सरकारी राहत लक्षित वर्गसम्म पुग्न नसकेको जनाउँदै प्रभावकारी अनुगमन आवश्यक रहेको जनाएको छ ।

कम्युनिस्टहरूले राहत वितरणमा समेत राजनैतिक पूर्वाग्रह देखाएको भन्दै पक्षपातपूर्ण व्यवहारका घटनाले परिस्थितिलाई झन जटिल र गम्भीर बनाउने कास्की कांग्रेसले जनाएको छ ।

राजनैतिक दल र नागरिक समाजको सहभागितामा राहत वितरण कार्यलाई अघि बढाउन सम्वन्धित पक्षको कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

गण्डकी प्रदेशका कांग्रेस सांसद विन्दुकुमार थापा पोखरा उपमहानगरपालिका वडा नम्बर २१ लगायतका वडाहरूमा राहत वितरण गर्दा राज्यले अबरोध गरेको भन्दै कास्की कांग्रेसले आपत्ति जनाएको छ ।

राजनीतिक पूर्वाग्रही भएर राज्यको राहतबाट बञ्चित भएका अति विपन्न नागरिकहरूलाई राहत वितरण गर्दा कांग्रेस सांसद थापालाई स्थानीय जनप्रतिनिधि र प्रशासनले अवरोध गरेको भन्दै कांग्रेसले खेद प्रकट गरेको छ ।

जननिर्वाचित प्रतिनिधि व्यक्ति मात्र नभएर संस्था पनि भएकाले राहत वितरण गर्दा उल्टै कारवाहीको माग गर्नु घोर आपत्तीजनक र निन्दनीय भएको बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2020 April 22, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया