एमाले–माओवादी सत्ता गठबन्धको एक बिकेट खस्यो, पाक्न थाल्यो प्रचण्डको मन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) बाहिरिएको छ ।

सोमबार बिहान जसपाका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

यादवले भने, ‘आज बिहान प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।’

यादवले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । योसँगै जसपा नेपाल सरकारबाट औपचारिक बाहिरिएको छ ।

एमाले र माओवादी केन्द्रको गठबन्धनबाट जसपा नेपाल बाहिरिएपछि सत्ता गठबन्धनभित्र केही तनावको अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री दाहाललाई सरकार टिकाउन आवश्यक संख्या रहे पनि आफ्नै क्याविनेटका उपप्रधानमन्त्रीले दुई महिनाभित्रै पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएपछि असज अवस्था रहेको टिकाटिप्पणी भएका छन् ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले जति नै सहजताका कुरा गरे पनि उनको मनभित्र विभिन्न खालका तर्क र कुराहरू पाक्न थालेका छन् ।

Published : Monday, 2024 May 13, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया