समस्यामा परेका नागरिकलाई घर पठाउन हिन्दू परिषदको आग्रह

कृष्णा यादब

बीरगञ्ज । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले राजधानी वा मुलुकको अन्य भागबाट घर जान निस्केका नागरिकलाई सुरक्षित तवरले पु¥याइ दिन सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौंसहित देशको बिभिन भागमा श्रम गरिरहेका नागरिक खाने र बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका छन् ।

‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो’, पटेलले शनिवार सामाजिक संजालमार्फत सरकारलाई आग्रह गरेका छन् ।

पटेलले पैदल हिँडिरहेका मजदुरहरूलाई आ–आफ्नो स्थानमा खाना र बस्ने व्यवस्था मिलाउन तिनै तहका सरकार संग अनुरोध एवं आग्रह गरेका छन् ।

सामाजिक दूरी कायम गरेर आ–आफ्नो क्षेत्रमा खाना र राति भए बासको व्यवस्था समेत मिलाउन उनले आग्रह गरेका हुन् ।

भोक र पसिनासँगै सयौं किलोमिटर यात्रा गरिरहेका मजदुरहरूप्रति लक्षित गर्दै उनले भने, ‘पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन भन्ने प्रश्न उठेको छ ।’

‘भावनामा बगेर बोल्ने बेला यो होइन तर कोठाभित्र छटपटिएर र सडकमा तडपिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन’, पटेलले भने, ‘पर्याप्त राहत पुर्‍याउन र अप्ठ्यारोमा रहेकाहरूलाई सुरक्षित ढंगले गाउँ पुर्‍याउने प्रबन्ध मिलाउन सरकारसँग हिन्दू परिषद नेपाल आग्रह गर्दछ ।’

Published : Saturday, 2020 April 18, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया