कोरोनाबाट सुरक्षित बस्न राप्ती गाउँपालिकका अध्यक्षको अपील

मसुरिया । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहेको अवस्थामा सबै जना सुरक्षित रहनुपर्ने बेला आएको बताएका छन् ।

अध्यक्ष सुवेदीले सोमबार अपील जारी गर्दै नेपालमा पनि एक प्रकारको स्वास्थ्य संकटकालको अवस्था सिजर्ना भएको अवस्थामा सबैजना संयमित भएर आ–आफ्नो सुरक्षा तथा संक्रमणबाट बच्नको लागि सजग हुनपर्ने बताए ।

यस समयमा संघ प्रदेश र स्थानीय तहहरूले आ–आफ्नो अधिकार क्षेत्र अनुरुप सहकार्य गरी विपद ब्यवस्थापनका लागि विभिन्न कार्ययोजना अघि बढिरहेको उनले जनाएका छन् ।

‘राप्ती गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मीहरू यस जोखिम रोकथाम तथा नियन्त्रण तथा नागरिकको सुरक्षाको लागि सरोकारवालाहरको सहयोगमा हेल्प डेक्स राख्ने, क्वारेण्टाईनको स्थापना गर्ने चोकचोकमा साबुनपानीले हात धुने, उपलब्ध मास्क वितरण गर्ने, रेडियो टेलिभिजनमार्फत सचेतना सन्देश फैलाउने, सभा सम्मेलन, भिडभाड रोक्ने लगायतका कार्यहरु सञ्चालन गरिरहेको छौँ’, अपीलमा अध्यक्ष सुवेदीले भनेका छन् ।

‘आधुनिक उपकरणमार्फत कोरोना भाइरस संक्रमणको स्कृनिङ गर्नेकार्यका लागि प्रदेश र संघ स्तरीय कार्यालयहरूसंग समन्वय गरिरहेको जानकारी गराउँदछौँ’, उनले भनेका छन् ।

‘विश्वव्यापी महामारी कोभिड—१९ बाट जोगिनका लागि आम नागरिकको समेत सामूहिक दायित्व भएकोले भिडभाड हुने खालका कुनैपनि गतिविधि नगर्न नगराउँन पनि आग्रह गर्दछौँ’, राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले भनेका छन्, ‘मुलुकभर कोभिड—१९को संक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा यसको संक्रमणबाट जोगिनुनै पहिलो आवस्यकता भएकोले यो अभियानमा साथ दिन राप्ती गाउँपालिकावासी तथा आम नेपाली दाजुभाई दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’

‘कोरोना भाईरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि यस गाउँपलिकाभित्र रहेका सम्पूर्ण शाखा तथा वडा कार्यालयहरूलाई अत्यावश्यक वाहेकका अन्य सेवाहरू सिफारिस, प्रमाणीकरण, भुक्तानी आदि नगर्न नगराउनु हुन तथा कार्यालयमा भिडभाड नहुने व्यवस्था मिलाउन, गाउँपालिकाद्वारा सञ्चालित कोरोना रोकथाम तथा नियन्त्रणका कार्यहरूलाई निरन्तरता दिन तथा यसको जोखिम रोकथाम तथा नियन्त्रणका आवश्यक व्यवस्था मिलाउनुहुन सम्पूर्ण शाखा तथा वडा कार्यलयहरूलाई निर्देशन गरिएकोले नागरिकमा पर्न गएको असुविधाप्रति हामी दुखि छौँ’, अपीलमा भनिएको छ ।

‘कोरोना भाईरसबाट हुने संक्रमणबाट आफूपनि बच्ने र अरुलाईपनि संक्रमण हुन नदिन घरभित्रै बस्ने, साबुन र पानीले नियमित हात धुने, भिडभाड र अनावस्यक भेटघाट नगर्ने, आफ्नो परिवारमा विदेशबाट कोही भए छुट्टै राख्ने र रेखदेख गर्ने ब्यवस्था मिलाउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु’, राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले अपीलमा भनेका छन् ।

Published : Tuesday, 2020 March 24, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया