कोरोनाबाट बच्न सिसहनियाँका व्यापारीद्वारा उच्च सर्तकता

तीर्थराज ज्ञवाली

सिसहनिया । दाङ जिल्लाको राप्ती गाउँपालिका सिसहनियाँका व्यापारीहरूले उच्च सर्तकता अपनाउँदै बजार बन्ददेखि चोकचोकमा हातधुने व्यवस्था मिलाएका छन् ।

‘कोरोना भाइरसको संक्रमबाट आफूपनि बचौँ अरुलाई पनि बचाऔँ’ भन्ने उदेश्यले सिसहनियाँका व्यापारीहरूले उच्च सर्तकता स्वरुप आगामी २१ गतेसम्म पूर्ण रुपले बजार बन्द गर्ने निर्णय गरेका हुन् ।

चोकचोकमा साबुन र पानीले सर्वसाधारणको लागि हात धुने व्यवस्था गरेको सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरी अधिकारीले जानकारी दिए ।

सिसहनियाँ क्षेत्र बजार र ग्रामीण क्षेत्र रहेकोमा यस क्षेत्रका नागरिकहरूलाई केही समय बजार बन्दको कारणले दैनिक उपभोग्य समानको अभाब नहुने र आइपर्न सक्ने कोरोना भाइरसको जोखिमबाट बच्न र संक्रमणको सम्भावना कम गर्न बजार बन्द गर्ने सर्बसम्मत निर्णय गरिएको सिसहनियाँ उद्योग वाणिज्य संघका सचिव मदन पोख्रेलले जानकारी दिए ।

कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सिसहनियाँ उद्योग वाणिज्य संघ मातहतका सबै बजार क्षेत्र चैत १० गतेदेखि २१ गतेसम्मका लागि बन्द हुने भएका हुन् ।

राप्ती गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा आइतबार वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले राप्ती गाउँपालिकाको वडा नम्बर ५ को प्रगतिनगर सिसहनियाँ बजार, पहरुवा, लट्ठहवा, वडा नम्बर ६ को पत्थरगढवा चौबाटो बजार, वडा नम्बर ७ को चौबाटो बजार र वडा नम्बर ८ को पिपरी, बिजौरी बजार तथा गाउँगाउँमा समेत व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकले कुनै सभा, सम्मेलन नगर्न नगराउन, भीडभाडमा सहभागी नहुन, लामो दुरीको यात्रा नगर्न, सरसफाईमा ध्यान दिन, मासुजन्य बस्तु राम्रोसँग पकाएर खान, बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्न, खोक्दा वा हाछ्यु गर्दा नाक मुख छोप्न र अति आवश्यक काम बाहेक जथाभावी आफू र बालबालिकालाई बाहिर ननिस्कन पनि आग्रह गरेको वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताए ।

वडाध्यक्ष रावतले स्थानीय सरकार प्रदेश सरकार तथा केन्द्रीय सरकार नागरिकको स्वास्थ्य रक्षाको लागि लागिरहेको र सकेसम्म उपलब्ध स्रोत साधनको प्रयोग गरी कोरोना संक्रमण रोक्न लागि परेको बताए ।

बजार बन्द गर्ने विषयमा सम्पूर्ण ब्यापारीवीच बन्दका समयमा अत्यावश्यक उपभोग्य सामाग्री भने सहज तरिकाले उपलब्ध गराउने निर्णय पनि भएको छ ।

सामान स्टक राखेर कालोबजारी गर्ने काम नगर्न सम्पूर्ण उद्योगी व्यापारीहरूलाई बैठकले आग्रह गरेको छ ।

कोरना संक्रमण उच्च सर्तकता बैठकमा गाउँगाउँमा सचेतनामुलक माइकिङ गर्ने निर्णय समेत भएको छ ।

बैठकमा जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, चेम्बर अफ कमर्सका पदाधिकारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको संघका कार्यालय सचिव सुवेदीले जानकारी दिए ।

Published : Monday, 2020 March 23, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया