निजी स्वार्थको काम हुँदैन, धरानमा भ्रष्टाचार हुन दिन्नः तिलक राई

काठमाडौं । धरान सरोकार समाज काठमाडौंले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई सम्मान गरेको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा समाजले मेयर राईलाई सम्मान गरेको हो ।

‘वादको विवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं’ भन्ने सन्देश बोकी काठमाडौंमा रहेका धरानेहरू मिलेर धरानको विकास निर्माणमा हातेमालो गर्ने उदेश्यले स्थापित धरान सरोकार समाज काठमाडौंले मेयर राईलाई नगरको विकासमा दलीय आँखाले नहेर्न सुझाव दिएको छ ।

समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ र सल्लाहकार यज्ञप्रसाद आचार्यले मेयर राईलाई खादा, बुकी र सम्मान पत्रले सम्मानित गरेका थिए ।

धरानकी उपमेयर मञ्जु भण्डारीले सोही समारोहमा मलेसियामा गत असोजमा सम्पन्न मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को बिजेता बन्न सफल प्रियारानी लामालाई सम्मान गरेकी थिइन् ।

समाजका अध्यक्ष श्रेष्ठले धरानको विकासको लागि काठमाडौंमा रहेका धरानेहरू हरेकपल धरान उप–महानगरपालिकाको साथमा रहेको बताए । उनले नवनिर्वाचित मेयरबाट धरानको विकासमा नयाँ आयाम थपिनेमा आफूहरू आशावादी रहेको बताए ।

मेयर राईले ‘वादको विवाद नगरौं, धरानको विकास निर्विवाद गरौं’ भन्ने धरान सरोकार समाजको मूलमन्त्रले आफूलाई निक्कै छोएको बताए ।

उनले धरानको विकासको लागि कुनै पार्टी विशेषको नभएर आफ्नै धरानको विकास गर्नको लागि धरान उप–महानगरपालिका लागिपर्ने बताए । उनले आफू धरान सरोकार समाज काठमाडौंसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

मेयर राईले आफूले कसैको निजी स्वार्थका लागि काम नगर्ने र भ्रष्टाचार कुनै हालतमा नगर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने धरानका व्यक्तित्वहरूको बाक्लै उपस्थिति रहेको थियो ।

Published : Saturday, 2020 January 11, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया