कांग्रेसले कम्युनिस्ट सरकारलाई विरोध पत्र बुझाउने

काठमाडौं । नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गर्न लागेको विषय अत्यन्तै गम्भीर रहेको जनाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नागरिकको ‘फोन ट्यापिङ’ समेत गर्न सक्ने गरेर विधेयक संसदमा पेश गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको हो ।

‘सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरे वापत ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्नु पर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन् हुने र आलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्रका विरुद्ध ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई आगामी पुस २८ गते विरोध पत्र बुझाउने बैठकले निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

कम्युनिस्ट सरकारले संविधानविरुद्ध नागरिकका अधिकार कटौती गर्ने गरेर विधेयकहरू ल्याएपछि नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

नेपाली कांग्रेसले तराई–मधेशका विभिन्न जिल्लामा उखु खेती गरिहेका कृषकहरुले रकम भुक्तानी माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरेको महिना दिन पुग्न लाग्दा समेत भुक्तानी दिलाउन सरकारले गम्भीर पहल नगरेको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

‘उखु किसानहरूको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरूलाई अपील गर्दै, प्रभावकारी पहल गर्न सरकार समक्ष जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 January 2, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया