दाङको पहाडी क्षेत्रमा उत्खनन् रोक्न आदेश

सुरेश श्रेष्ठ

तुलसीपुर । उच्च अदातल तुलसीपुर, दाङले तुलसीपुरको पहाडी क्षेत्रमा भइरहेको उत्खनन् रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

आइतवार तुलसीपुरका नवीन बुढाथोकीले नगर प्रमुख, तुलसीपुर उपमहानगरपालिका, पेटीमा उत्खनन्को काम गर्दै आएका ठेकेदार, सामुदायिक वन, उपभोक्ता समिति लगायतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट हालेका थिए ।

त्यसमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश शालिग्राम कोइरालाको एकल ईजलासले पुस २१ गतेसम्मको लागि उत्खननको काम रोक्न अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता डिल्लीराज धितलले जानकारी दिए ।

सोमबार उक्त विषयमा झण्डै एक दर्जन बढी अधिवक्ताहरूले बहस गरेका थिए । अब पुस २१ गते उक्त विषयमा उच्च अदालतको डिभिजन बेञ्चमा छलफल हुनेछ ।

निवेदक बुढाथोकीले पुस १३ गते तुलसीपुर नगर प्रमुख, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाउँदै परमादेश उत्प्रेरण निषेधज्ञाको माग गर्दै मुद्दा दर्ता गराएका थिए ।

अब २१ गतेपछि मात्रै उत्खननको विषयमा के हुने भन्ने टुङ्गो लाग्ने भएको छ ।

Published : Monday, 2019 December 30, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया