नेकपाका कार्यकर्तावीच हानाहान, थुप्रै घाइते

धनुषा । धनुषा जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूका बीच झडप भएको छ ।

कमला नगरपालिका वडा नम्बर ८ टेरहामा सडक बिस्तारको लागि जग्गा छुट्याउने विषयमा नेकपाका नेता तथा कार्यकर्ताहरूबीच शनिबार झडप भएको हो ।

नेकपाका नेता रामचन्द्र झा र जिल्ला अध्यक्ष श्रवण बरबरियाको समूहबीच हानाहान भएको नेकपाका एक नेताले जनाएका छन् ।

झडपमा नेताका ७ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

टेरहा टोलका ५५ वर्षीय किशोरी दास, ५२ वर्षीय जगतनारायण यादव, २२ वर्षीय नरेशकुमार दास र शिवकुमार यादवको अवस्था गम्भीर छ ।

उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

नेकपाका जिल्ला अध्यक्ष बरबरिया समूहका अमरपट्टि यादव, रामअवतार यादव र धनिकलाल यादव सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

टेरहा टोलमा सडक बिस्तारको लागि दुबैतिरको जग्गा काट्ने कार्य भइहेको छ ।

अध्यक्ष बरबरियाका ज्वाइँ नवल ठरियाले तोकिएको मापदण्डअनुसार जग्गा नदिएपछि विवाद भएको थियो ।

विवादलाई साम्य पार्नका लागि छलफल गरेर पुनः नाप्ने सहमति समेत भएको थियो ।

ज्वाइँ ठरियाको समूह जग्गा नापजाँच गर्नेहरूविरुद्ध अचानक घरेलु हातहतियारसहित जाइलागेपछि दुई पक्षबीच झडप भएको घाइते शिवकमार यादवले बताए ।

कमला नगरपालिकाका मेयर रामउदगार गोइतले भने त्यसबारे आफूलाई जानकारी नभएको बताए ।

‘घटना भएको सुनेको छु तर त्यसबारे म पूर्ण जानकार छैन’, उनले भने, ‘सम्बन्धित वडाध्यक्षलाई बोलाएर बुझ्ने प्रयास गरिरहेको छु ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी समायोजनका लागि केन्द्रमा अन्तिम गृहकार्य गरिरहेका बेला धनुषामा भने कार्यकर्तावीच बाटो खोल्ने विषयमा हानाहान भएको छ ।

Published : Sunday, 2019 December 29, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया