गैरजिम्मेवार जवाफ दिएपछि नेविसंघद्वारा बास्कोटाको कार्यकक्षमा तोडफाड

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् ।

आइतबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यकक्षमा पुगेका नेविसंघका कार्यकर्ताहरूले तोडफोड गरेको जनाइएको छ । नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमा तोडफोड गरेको हो ।

विभिन्न शैक्षिक मागहरू राखेर आन्दोलित नेविसंघले ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेपछि तोडफोड गरेको जनाइएको छ ।

तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ ।

राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकी हटाउनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराउने क्रममा उपकुलपति बास्कोटाले पार्टीको दबाब छ भनेर गैरजिम्मेवार जवाफ दिएपछि तोडफोड गरेको नेविसंघका सचिव रावलले बताएका छन् ।

नेविसंघले आगामी फागुन १४ गते तोकिएको स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गर्नु पर्ने माग राख्दै आएको छ ।

त्रिविभित्रको प्रहरी चौकी हटाउनु पर्ने तथा राजनीतिक नियुक्ति गर्न नहुने लगायत माग राखेर नेविसंघले आन्दोलन गरेको थियो ।

Published : Sunday, 2019 December 29, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया