खुसी हुँदै सिंहदरबारबाट बिदा भए मन्त्री राई

काठमाडौं । निर्वतमान शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो कार्यकालमा कर्मचारीको उत्कृष्ट समन्वय र सहयोग प्राप्त भएको बताएका छन् ।

सिंहदरवारस्थित शहरी विकास मन्त्रालयमा बुधवार आयोजित बिदाइ समारोहमा मन्त्री राईले सबै कर्मचारी र सरोकारवाला निकायको समन्वय र सहकार्यले विकासे मन्त्रालयमा शहरी विकास मन्त्रालयले प्रभावकारी कार्यसम्पादन गर्न सकेको बताए ।

राईको नेतृत्वमा मन्त्रालयले पछिल्लो एक वर्षमा आफ्नो जिम्मेवारी अन्तर्गत ६० प्रतिशत उपलव्धी हासिल गरेको छ ।

उनले आफ्नो कार्यकालमा कार्यसम्पदान राम्रो हुनुमा कार्यालय सहयोगीको समेत महत्वपूर्ण भूमिका रहेको बताए । राईले मन्त्रालयको १९ महिना लामो कार्यकालमा साथ र सहयोग गर्ने सम्पुर्ण कर्मचारी, सरोकारवाला निकाय, संचार जगत लगायतलाई धन्यवाद दिए ।

अहिलेसम्म राजीनामा दिएर जाने मन्त्रीहरूलाई सम्मान गरी बिदाइ गर्ने प्रचलन कम रहेको भन्दै मन्त्रालयमा कर्मचारीको सम्मान र माया पाउँदा आफैलाई भाग्यमानी महशुस भएको उल्लेख गरे ।

‘तपाईहरूको यो सम्मान र मायाले निकै भावुक बनायो, पार्टी राजनीतिमा सरकारमा बस्ने र छाड्ने कुरा सामान्य हो’, उनले भनेका छन्, ‘त्यसैले प्रतिनिधी सभा सदस्य र नागरिकको हैसियतबाट मन्त्रालयमा आफूले कुनै सहयोग गर्ने अवस्था आए साथ दिन सधैँ तयार छु ।’

राईले प्रधानमन्त्रीज्यूबाट आफ्नो कार्यसम्पादनको प्रशंसा भएको भन्दै यसमा आफ्नो व्यक्तिगतभन्दा पनि कर्मचारी साथीहरूको सहयोग र सहकार्य मुख्य कारण रहेको बताए ।

फरक परिवेश श्रृजना भएर आफूहरू सरकारबाट बाहिरिएपनि सदैब मुलुकको हित र सम्बृद्धिका लागि आफूले काम गर्ने राईले प्रतिबद्धता जनाए ।

निर्वतमान मन्त्री राईले आगामी दिनमा अझै प्रभावकारी रुपमा राज्यमन्त्री र सचिवबाट मन्त्रालयको काम कारवाही अघि बढ्नेमा विश्वास व्यक्त गरे ।

Published : Wednesday, 2019 December 25, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया