पराजित भएपनि ललितपुरको विकास मेरो पहिलो प्राथमिकताः कांग्रेस नेता राणा

ललितपुर । ललितपुर जिल्लामा रोटरी क्लव अफ जावालाखेल मञ्जुश्रीसहित विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा गोदावरी नगरपालिका– १३ झरुवारासीमा सामुदायिक भवन निर्माण गरिएको छ ।

दुई कोठे पक्की भवन मंगलबार स्थानीयलाई हस्तान्तरण गरिएको छ । सात लाख पचास हजार रुपैयाँ नगद र स्थानीयको जनश्रमदानबाट सन्तानेश्वर झरुवागुठी सामुदायिक भवन निर्माण गरिएको सामुदायिक भवन निर्माण समितिका संयोजक सानुभाई थापाले जानकारी दिए ।

उनले किरियापुत्री, सामाजिक कार्यलगायतमा भवनको प्रयोग गरिने बताए । रोटरी क्लव अफ जावालाखेलले ३ लाख रुपैयाँ र १५ बोरा सिमेन्ट, गोदावरी नगरपालिकाले एक लाख पचास हजार रुपैयाँ, सिनिक हाउजिङले १ लाख पचास हजार रुपियाँ र झरुवागुठीले एकलाख पचास हजार नगद सहयोगमा भवन निर्माण गरिएको हो ।

सबैभन्दा बढी दलितवस्ती रहेको झरुवारासीमा ४० घरधुरी रहेका छन् ।

कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले विकास निर्माणको सबैको हातेमालो आवश्यक रहेको बताए ।

उनले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर नागरिकहरू विकास निर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।

‘तीन तहकै सरकारबीच विकास निर्माणमा तालमेल मिलेको छैन’, उनले भने, ‘यसले गर्दा विकास निर्माणले अपेक्षाकृति गति लिन सकेको छैन ।’

उनले आफू निर्वाचनमा पराजित भएपनि ललितपुरको विकासमा सधैं सक्रिय रहेको उल्लेख गरेका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले सामाजिक संघ, संस्थाहरूले विकास निर्माणमा गरेको योगदान प्रशंसनीय रहेको बताइन् ।

‘रोटरी क्लव अफ जावालाखेलले गोदावरी क्षेत्रमा धेरै राम्रा काम गरेको छ, हामी विकास निर्माणमा सामाजिक संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं’, उनले भनिन् ।

रोटरी क्लव अफ जावालाखेल मञ्जुश्री र सन्तानेश्वर झरुवागुठी उपभोक्ता समिति र गोदावरी नगरपालिकाको संयुक्त लगानी सामुदायिक भवन निर्माण समितिको संयोजक सानुभाई थापाले जानकारी दिए ।

वडाध्यक्ष भाष्कर थापाले नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिए । रोटरी क्लप अफ जावालाखेलका अध्यक्ष पुनम शाहले विकास निर्माणमा आफूहरुले स्थानीय सरकारसँग सधैं सहकार्य गर्ने बताइन् ।

Published : Wednesday, 2019 December 25, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया