काठमाडौंका दुई चर्चित गुण्डाहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा सर्वसाधारण र व्यापारीहरूलाई धम्काएर अबैध असुली गर्ने दुई जना टोले गुण्डाहरूलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीहरूलाई फोनमार्फत धम्काई रकम मागेर दुःख दिने कार्यमा संलग्न ‘दुर्गा’ भन्ने दवान राई र विष्णुबहादुर धिताललाई प्रहरीले विभिन्न समयमा कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

राई र धितालको समूहले व्यापारीलाई माग गरेअनुसारको रकम नदिए हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की समेत दिँदै आएको प्रहरीद्वारा सोमबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ ।

राई र धितालको समूहले त्रास पैदा गर्ने जस्ता कार्य गरेको गुनासोको आधारमा गुण्डागर्दी कार्यमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कार्बाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

४४ वर्षीय ‘दुर्गा’ भन्ने देवान राई नवलपुर जिल्लाको देउचुली नगरपालिका वडा नम्बर १३ निवासी हुन् । उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।

राईलाई प्रहरीले पुस ४ गते अपरान्ह ५ बजे कोटेश्वरबाट पक्राउ गरेको थियो ।

४१ वर्षीय विष्णुबहादुर धितालको स्थायी घर काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ मा पर्छ । काठमाडौंको गोठाटारमा पुस ५ गते दिउँसो १ बजे कोटेश्वरबाट पक्राउ परेका थिए ।

राई र धिताल काेटेश्वर क्षेत्रमा अबैध गतिविधि र हर्कतमा चर्चित मानिन्छन् ।

Published : Monday, 2019 December 23, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया