कांग्रेसका सांसद आलम रौतहटमा पक्राउ

चन्द्रनिगाहपुर । जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई पक्राउ गरेको छ ।

रौटहट प्रहरीले आलमलाई बम काण्डको आरोपमा पक्राउ गरेको हो । प्रहरीको फरार सूचीमा रहेका नेपाली कांग्रेसका सांसद आलम पक्राउ गरेको स्रोतले जनाएको छ ।

पक्राउ गरिएका सांसद आलामलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । उनी रौतहट २ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्छन् ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा बम बनाउँदै गर्दा अचानक पड्किएर झण्डै दुई दर्जन व्यक्ति घाइते भएका थिए । केही व्यक्तिको मृत्यु भएको थियो ।

सो घटनामा घाइते भएकालाई आलमको निर्देशनमा इँट्टा पोल्ने भट्टीमा हालेर मारिएको उनीमाथि आरोप छ ।

घटनाको बारेमा मानव अधिकार आयोग, इन्सेकलगायतले अनुसन्धानसमेत गरेका थिए । बम बनाएको घरसमेत विष्फोटबाट क्षतिग्रस्त भएको थियो ।

मृत्यु भएका भनिएका मध्ये दुई जना नेपाली र बाँकी १९ जना भारतीय नागरिक रहेको दाबी गरिएको छ ।

यस विषयमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूलाई धेरै जानकारी नरहेको बताए । ‘सांसद मोहम्मद अफ्ताब आलम पक्राउ परेको अपुष्ट कुरा मैले पनि सुनेको छु’, उनले भने, ‘यसबारेमा थप बुझ्ने कार्य हुँदै छ ।’

Published : Sunday, 2019 October 13, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया