गृहमन्त्रीका भाई नरेश र गुण्डा नाइकेको जेलभित्रै धन्दा

काठमाडौं । जेलभित्र रहेका गुण्डा नाइके समिरमान बस्नेतसँग मिलेर फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापासहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बयान लिइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

ब्युरोले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रूपमा केन्द्रीय कारागारमा रहेका समिरमान बस्नेतसँग मिलेर फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामा नरेश थापासहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगर छन् ।

वीरबल केन्द्रीय कारागारको सुरक्षामा खटिएका प्रहरी जवान हुन् । प्रजापति, लामा र भट्टराईको बयान बिहीबार सकिएको छ ।

ब्युरोका डीआईजी नीरज शाहीले संगठित अपराध र आपराधिक लाभ लिएकामा सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा पेस भएको बताएका छन् ।

प्रारम्भिक बयानपछि नरेशलाई बिरामी कागजातका आधारमा थुनाबाहिर बस्ने सुविधा दिइएकामा पछिल्लो समय उनी थुनामै छन् ।

वीरबलले समिरमानका निम्ति सेटिङमा मोबाइल फोन कारागारभित्र पु¥याउन सघाएका थिए ।

पक्राउ परेका एक जनाले ५ हजार रुपैयाँ दिने सर्तमा वीरबलले मोबाइल जेलभित्र पु¥याउन भूमिका खेलेको बयान दिएका छन् ।

समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ जना व्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए ।

साउन अन्तिम साता पक्राउ परेका पवन र सुरेनले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको अनुसन्धानका क्रममा देखिएको छ ।

रकम असुल्न समीरमानकै अगुवाइमा पवन र दुबई रहेका जावेद अनवरदिनले योजना बनाएका थिए । उक्त योजनामा पछि शैलेश, वीरबल हुँदै गृहमन्त्रीका भाइ नरेश पनि जोडिएका हुन् ।

पवनले नरेशसँग भएको कुराकानी भन्दै जावेदलाई पठाएको सन्देशमा फिरौती संकलनमा केही अप्ठ्यारो परे नरेशले मिलाउने उल्लेख छ ।

कामका क्रममा केही गाह्रोसाह्रो परे नरेशले प्रहरी र गृह प्रशासन सबैलाई मिलाउन सक्ने कुराकानी भएको देखिन्छ ।

पवनले जावेदसँग केही अप्ठ्यारो परे नरेशले मान्छे भगाउन पनि सहयोग गर्ने बताएका छन् ।

Published : Friday, 2019 September 13, 7:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया