पेरिशडाँडामा नेकपाको ‘नौटंकी’, करोडभन्दा महँगा गाडी चढेर विवाह

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका नेता नरेश रेग्मी र डा.क्षमता सुवेदीले कथित प्रगतिशील विवाह गरेर सबैलाई चकित तुल्याइदिएका छन् ।

सोमबार प्रगतिशील विवाह गराउन नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू करोडभन्दा महँगा गाडी चढेर विवाह कार्यक्रमस्थल पुगेका थिए ।

कथित प्रगतिशील विवाहमा सहभागी हुन आएका नेकपाकै केही कार्यकर्ताले करोडभन्दा महँगा गाडी चढेर नेकपा शीर्ष नेताहरूले फेजआउट भइसकेको प्रगतिशील विवाह गरेको भन्दै आलोचना गरे ।

‘सत्तामा बस्ने । नेताहरू करोडभन्दा महँगा गाडीमा चढ्ने । नेकपा निकटका विद्यार्थी नेताहरूले कथित प्रगतिशील विवाहका नाममा ढोँग मच्चाउने’, वैवाहिक कार्यक्रममा सहाभागी ती नेताले भने, ‘यो त नौटंकी हो । नाटक हो । ढोँग हो ।’

ती कार्यकर्ताले प्रगतिशील विवाह गर्ने हो भने सोही अनुसारको आचरण नेकपाका नेताहरूले देखाउनु पर्ने बताए । ‘करोडभन्दा महँगा गाडी चढेर आएर प्रगतिशील विवाह गर्नुको कुनै तुक छैन’, ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।

पूर्वमाओवादी केन्द्रको काठमाडौंको कोटेश्वरस्थित पेरिशडाँडामा रहेको कार्यालयमा नरेश र क्षमताको प्रगतिशील विवाह गरिएको हो । पेरिशडाँडाको पार्किङस्थलमा गाडी राख्ने ठाउँ थिएन ।

नरेश साविक माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् । डा.क्षमता सुवेदी क्रान्तिकारीकी समर्थक हुन् । विवाह समारोहको आयोजना अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको हो ।

डा.क्षमता सुवेदी झापा जिल्लाको दमक निवासी हुन् भने नरेश रेग्मी दाङ जिल्लाको तुलसीपुर निवासी हुन् । प्रगतिशील विवाह गर्ने जाेडी पनि गरिव भने हाेइन । उनीहरूकाे प्रशस्त सम्पत्ति छ ।

कथित प्रगतिशील विवाह गरेका नरेश र डा.क्षमतालाई वधाई दिन प्रचण्डका साथै गृहमन्त्री रामबहादुर थापा, नेतृ पम्फा भुषाल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल लगायतका नेकपाका नेताहरू करोडभन्दा महँगा गाडीमा चढेर विवाहस्थल आएका थिए ।

प्रगतिशील विवाहको मूल कर्म ५ मिनेटमा सकिएको जनाइएको छ । मञ्च अगाडिको टेवलमा तीन वटा मैनवत्ती बालेर विवाह गरिएको थियो ।

Published : Monday, 2019 August 5, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया