लामिछानेद्वारा सहकारी ठगी र एमालेसँग सरकार बनाउनेबारे कांग्रेसको के छ तयारी ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा संवाद नभएको बताएका छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले कांग्रेसले सरकार ढाल्न खोज्यो भन्ने आरोपमात्रै भएको र त्यसमा कुनै सत्यता नभएको बताए ।

पछिल्लो समय कांग्रेस र एमाले दुई ठूला पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आमधारणा बन्न गएको भन्दै उनले कार्यकर्ताको तहबाट त्यस्तो चाहना आएपनि पार्टीको नेतृत्वले त्यस्तो पहल नगरेको बताए ।

प्रमुख सचेतक लेखकले पार्टीमा कोही एउटा नेताले बोलेको विषय र धारणालाई लिएर पार्टीलाई नै त्यसमा मुछ्न नहुने बताए ।

उनले कांग्रेसले बलियो प्रतिपक्षीको भूमिका निभाउने दाबी गर्दै मुलुकका साझा समस्याहरुको समाधानका लागि भने सरकार र दलहरूसँग छलफल र सहकार्यकालागि सधैँ तयार रहेको बताए ।

प्रमुख सचेतक लेखकले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन हुनैपर्ने बताएका छन् ।

उनले लामिछाने व्यक्ति मात्रै नभएको र उनको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानविन आवश्यक रहेको बताए ।

लेखकले सहकारीको रकम हिनामिनाको विषयमा गृहमन्त्री लामिछानेमाथि र समग्रतामा पनि छानविन गरेर अघि बढ्नुपर्ने कांग्रेसको बटमलाइन रहेको बताए ।

उनले भने, ‘मूल कुरा के हो भने यहाँ एउटा कन्फ्युजन भएको छ । त्यो के हो भने हामीले मानौँ कि मन्त्रीजी कहाँ मात्रै छानविन खोजिराखेका हौँ कि भन्ने एउटा भाष्य निर्माण गर्ने प्रयत्न भइराखेको छ । त्यसो होइन । हामीले दुई वटै कुरालाई अगाडि बढाउने हो ।’

‘त्यो के हो भने–हजारौं मान्छेको अर्बौ रुपैयाँ सहकारीमा जम्मा भयो । त्यो बचत अपचलन भयो । ठगी भयो । र बचतकर्ताको रकम जोखिममा परेको छ’, उनले भने ।

लेखकले भने, ‘त्यसकारण बचतकर्ताको पीडालाई सम्बोधन गर्ने गरेर बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ । यो हिनामिना, अपचलन, दुरुपयोग गर्नेमा संलग्न मानिसहरूलाई कारबाही गर्नुपर्छ ।’

उनले भने, ‘कांग्रेसले कोही एक जना व्यक्तिको कुरामात्रै गरेको होइन, त्यसमाथि देशको उपप्रधानमन्त्री एउटा व्यक्तिमात्रै हुनै सक्दैन, त्यसकारण यो प्रकरणमा उहाँमाथि लागेको आरोप के हो ? सहकारीमा कसरी ठगी भएको छ ? दुवै कुरामा संसदीय छानविन हुनुपर्छ ।’

Published : Wednesday, 2024 May 8, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया