गृहमन्त्री लामिछाने र एआइजी ज्ञवालीबीच निरन्तर भेट, नक्साल सशंकित

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)का प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीलाई निरन्तर भेट गरिरहेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बोलाएर लामिछानेले ज्ञवालीसँग छलफलहरू गर्दै आएका छन् । लामिछानेले ज्ञवालीसँग किन बाक्लै छलफलहरू गरिरहेका छन् ? प्रश्न उठेको छ ।

विधि, नियम र प्रक्रियाको कुरा गर्ने लामिछानेले किन आइजीपीलाई भन्दा एआइजीलाई च्यापेका हुन् प्रश्न उठेको एक उच्च अधिकृतले बताएका छन् । ती अधिकृतले गृहमन्त्री लामिछानेसँग प्रहरीभित्र धेरै सुधार हुन्छ कि भनेर आशा गरिए पनि चेनअफ कमाण्ड विपरित हुन थालेपछि चिन्ता बढाएको जनाएका छन् ।

गृहमन्त्री लामिछानेले चेनअफ कमाण्डमार्फत प्रहरीमा ब्रिफिङ लिनुपर्छ । गर्नुपर्ने पनि त्यही हो । तर, गृहमन्त्री लामिछानेले आइजीपी बसन्तबहादुर कुँवरसँग धेरै परामर्शहरू गर्दैनन् ।

गृहमन्त्री लामिछानेले आइजीपी कुँवरसँग भन्दा धेरै सम्वाद र भेटघाट एआइजी ज्ञवालीसँग गर्ने गरेपछि प्रहरी मुख्यालय नक्सालमा विभिन्न खालका अड्कलबाजी र चर्चा भइरहेका छन् ।

गृहमन्त्री लामिछानेले एआइजी ज्ञवालीलाई रुचाएकी कारण आफू आउनेवित्तिकै सीआइबीमा लगेका छन् ।

प्रहरीभित्रका हरेक कुरामा ज्ञवालीसँग लामिछानेले सरसल्लाह गर्ने गरेको उच्च स्रोतले जनाएको छ । गृहमन्त्रीले एआइजी ज्ञवालीलाई च्यापेपछि विभिन्न आशंकाहरू हुन थालेका छन् ।

गृहमन्त्री लामिछानेसँग निकै निकट मानिने एआइजी ज्ञवालीले गृहमन्त्री लामिछानेलाई सिंहदरबारभित्र गएर पटक पटक भेट गरेको विषयलाई नक्सालले रुचाएको छैन । मंगलबार पनि एआइजी ज्ञवालीले गृहमन्त्री लामिछानेलाई गृह मन्त्रालयमा भेट गरेर झिमिक्क रात परेपछि बाहिरिएका थिए ।

पछिल्लो एकहप्तादेखि गृहमन्त्री लामिछाने र एआइजी ज्ञवालीबीच निकै बाक्ला भेटवार्ताहरू भएका छन् ।

सीआइबीको प्रमुख ज्ञवाली भए पनि आइजीपी कुँवरलाई सबै कुराको बिफ्रिङ गर्नुपर्छ । सीआइबीको जिम्मेवार आइजीपी हुन्छ ।

सीआइबीको कामकारबाहीका विषयमा आवश्यक्ताअनुसार आइजीपीले नै गृहमन्त्रीलाई बिफ्रिङ गर्नुपर्ने हो । तर, गृहमन्त्री लामिछानेले आइजीपी कुँवरलाई बाइपास गरेर एआइजी ज्ञवालीसँग सिधै सम्पर्क गरेर बिफ्रिङ लिने गरेको कार्यलाई नक्सालले मन पराएको छैन ।

Published : Wednesday, 2024 May 8, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया