लामिछानेद्वारा महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग, पत्रले संसदीय समितिको औचित्य पुष्टि

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेलाई बचाउ गर्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रलाई गम्भीर रुपमा लिएको छ ।

बुधबार बुढानिलकण्ठमा बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकमा गृहमन्त्री लामिछानेले महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको निष्कर्ष निकालेको उपसभापति धनराज गुरुङले बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई उनीविरुद्ध कुनै उजुरी/जाहेरी, अनुसन्धान र अभियोजन नभएको भनी पत्र दिएको छ ।

गृहमन्त्री लामिछानेले आफूलाई निर्दोष देखाउन राज्यका निकायको दुरुपयोग गरेको कांग्रेसले ठहर गरेको छ ।

महामन्त्री गगन थापाले त्यस्तो पत्र महान्यायधिवक्ता कार्यालयले लेख्न मिल्छ कि मिल्दैन भनेर पार्टीमा छलफल भएको बताएका छन् ।

उनले भने, ‘महान्यायाधिवक्ता कार्यालयको पत्रले संसदीय छानबिन समितिको औचित्य थप पुष्टि गरेको छ ।’

यी घटनाले राज्यका अहिले भइरहेका अंगले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सक्दैन भन्ने देखिएको थापाले बताएका छन् ।

उपसभापति गुरुङले सहकारीको रकम ठगी भएको विषयमा संसदीय छानविन समिति गठन गर्नै पर्ने बताए ।

गुरुङले बजेट अधिवेशनमा सरकार संसद चलाउने गरेर आउँछ वा के गर्छ उसैमा भर पर्ने बताए ।

उनले भने, ‘संसदीय छानविन समितिको सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नै पर्छ । र, अबको अधिवेशन चलाउने गरेर सरकार आउँछ या आउँदैन ? त्यो सरकारको हातमा छ ।’

‘लाखौँ लाख जनता ठगिएको प्रकरण हो यो । २/४ जना ठगिएको विषय होइन’, उपसभापति गुरुङले भने, ‘संसदीय छानविन समिति गठन गर्नुपर्छ भन्ने कुरामा हाम्रो अडान यथावत छ ।’

सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गरिरहेका बेला उपसभापति गुरुङले मागबाट पछाडि नहटेको बताएका छन् ।

Published : Wednesday, 2024 May 8, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया