‘सीता माता’को अपमान गर्ने जनकपुरका ‘धुन्दुकारी’ डाक्टर छोरा

काठमाडौं । चाइना नेपाल फ्रेण्डसिप मेडिकल रिसर्च सेन्टरका निर्देशक डा.राजीवकुमार झाले ‘सीता माता’ र राजकुमारी ‘भृकुटी’का विषयमा दिएको विवादास्पद अभिव्यक्तिको विरोध हुन थालेको छ ।

विगतमा भारतसँग निकट रहेर काम गरेका तर, पछिल्लो समय चीनसँग घनिष्टता बनाएका डा.झाले जनकपुरधामकी ‘सीता माता’का विषयमा दिएको अभिव्यक्तिले आलोचना भएको हो । डा.झाले भगवान ‘सीता माता’ र राजकुमारी ‘भृकुटी’लाई तुलना गरेर गलत गरेको जानकपुरधामबासी र हिन्दूधर्म मान्नेहरूले विरोध जनाएका हुन् ।

‘नेपालकी सीता मातालाई हामीले रामलाई दिएका छौं र ज्वाइ भन्ने गरेका छौं’, एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा डा.झाले भनेका छन्, ‘हाम्री चेली भारतमा दिएका छौं त्यही भएर निकट छौं भन्ने हो भने हामीले चीनमा पनि त नेपाली चेली भृकुटीलाई दिएका छौं नि त !’

‘हिन्दूधर्मालम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधामको आफ्नै महत्व छ । सीता मातालाई कुनै पनि व्यक्तिसँग तुलना गर्न मिल्दैन’, जनकपुर मन्दिरका महन्थ रामरोशन दासले भने, ‘एउटी राजकुमारी भृकुटीलाई व्यक्तिगत राजनीतिक उदेश्यपूर्तिका लागि एउटै कोटीमा राखेर कसैले पनि उदहरण दिनु उचित होइन ।’

हुन त डा.झा धनुषा जिल्लाकै स्थायी घर भएका डा.राजीव कुमार झा हुन् । डा.झाले सीता माताको अपमान तथा हिन्दूधर्मालम्बीहरूको आस्थामा चोट पुग्ने गरेर व्यक्तिगत उदेश्यका लागि किन अभिव्यक्ति दिएका हुन् भनेर धेरैले आलोचना गरेका छन् । जनपुरधामबासीले डा.झालाई मुख सम्हाल्न चेतावनी समेत दिएका छन् ।

डा.झाले एउटा अनलाइनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘चीनको क्वान्चोबाट मालबाहक रेलगाडी छुट्यो । १४ दिनमा सीमामा आइपुग्यो । अहिले भारततिरबाट आउँदा ३०–३५ दिनमा आइपुग्छ । हङकङको सीमाबाट त्यति दिनमा आउँछ भने कसरी बढी हुन्छ ? यसमा लागत र मूल्य निकै कम हुन्छ ।’

‘संस्कृतिको कुरा गर्ने हो भने हाम्रो सीमासँग चीनको संस्कृति किन मिल्दैन ? तिब्बती संस्कृतिसँग हाम्रो सीमा क्षेत्रको संस्कृति किन मिल्दैन ?’, उनले भनेका छन्, ‘भारतको कुरा गर्ने हो भने नेपालको र केरला, तामिलनाडुको संस्कृति मिल्छ त ? हो भाषा मिल्छ होला केही फाइदा भएको होला ।’

‘समग्र भारत वा चीनलाई नलिउ । दुबै देशसँग हाम्रो पुरानो सम्बन्ध छ । तर, त्यसको प्रयोग गरेर हामीले विकास गर्न सकेका छैनौं’, उनले भनेका छन् ।

Published : Monday, 2019 August 5, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया