३३ किलो सुन काण्डका ‘ठूलो माछा’ बचाउन निर्दाेषलाई मुर्गा

काठमाडौं । सर्वोच्च अदालतले ३३ केजी सुन तस्करी र सनम शाक्य काण्डमा पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई उच्च अदालत बिराटनगरले साधरण तारेखमा छाड्न दिएको आदेशलाई नै सदर गरेपछि उनीहरूले ढिला नै भए पनि न्याय पाएका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालत विराटनगरकै फैसलालाई सदर गरेको थियो ।

सुन तस्करी र सनम शाक्य काण्डको छानविन गर्न सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको सिफारिसमा गृह मन्त्रालयले प्रहरी अधिकृतलाई निलम्वन गरेको थियो ।

समितिमा नेपाल प्रहरीका एसएसपी बसन्त लामा र सुदीप पाठक पनि संलग्न थिए । लामा र लोहनी एउटै व्याजका हुन् भने लामाको योजनामा डिएसपी पाठकले उनीहरूबिरुद्द झुटो बयान गराएर फसाउन भूमिका खेलेका थिए ।

बिना प्रमाणको यो खेल लामो समय टिक्न सकेन र पीडित प्रहरी अधिकारीहरूले न्याय पाए पनि उनीहरूको करिअरमा भने दाग लाग्न पुग्यो । सबैभन्दा अचम्म त के छ भने त्रिभुवन बिमानस्थलबाट बाहिरिएको भनिएको साँढे ३३ केजी सुन अहिलेसम्म पनि फेला परेको छैन ।

३३ केजी सुनलाई ठूला माछाले गायब बनाएको चर्चा छ । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरालाई सुनकाण्डमा ठूलामाछा भनेर आरोप लागेपछि आफू सानो माछा भएको बताएका थिए ।

जसका कारण समिति नै निकम्मा साबित बन्न पुगेको थियो । समितिका सदस्य पाठकमाथि नै चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा अख्तियार दुरुपयोगअनुसन्धान आयोगले छानविन गरेको थियो ।

टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से१च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गरेको र गाडी चोरी गर्ने गिरोहलाई पाठकले संरक्षण दिएको उजुरी माथि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।

अख्तियारमा पटक पटक बयान दिएर मुद्दाबाट क्लिन चिट नपाएको अवस्थामा पनि पाठकलाई गृहले सुन काण्डको अनुसन्धान समितिमा राखेपछि अख्तियार अनुसन्धानबाट पछाडि हटेको थियो ।

मकवानपुर र कास्कीमा प्रहरी प्रमुख भएर बस्दा पाँच करोड भन्दा बढी मूल्य बराबरको अकुत सम्पत्ति जोडेका लामा असक्षम र प्रहरी अधिकारी हुन् । उनी काठमाडौंको प्रमुखमा ८ महिनाभन्दा बढी समय टिक्न नसकेबाट पनि पुस्टि हुन्छ । उनको अकुत सम्पत्तिको फाइल पनि अख्तियारमा पेन्डिङ नै छ ।

एसएसपी लामाले तस्करीमा मुछिएका पूर्व एआईजी विजयलाल कायस्थलाई उन्मुक्ति दिलाउन भूमिका खेलेका थिए । सुन तस्करी र शाक्य काण्डका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग एयरपोर्टमा छँदादेखि नै एसएसपी श्याम खत्रीले साँठगाँठ गरेका थिए ।

खत्री एयरपोर्टमा रहँदा उनका हाकिम थिए तत्कालीन डीआईजी विजयलाल कायस्थ । कायस्थ १६ महिनासम्म सुन तस्करहरूकै सेटिङमा एयरपोर्टमै बसेका थिए ।

कायस्थका हरेक आदेश खत्रीले पालना गर्दै आएका थिए । तर, लामा र पाठकले तस्करीलाई संरक्षण गर्ने कायस्थको नाम नै काट्न लगाइ ठूलो आर्थिक लाभ लिएको प्रहरी स्रोत बताउँछ ।

लहरो तान्दा पहरो गर्जने भनेझैं कायस्थलाई आदेश दिने तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्याल पनि सुन तस्करी काण्डमा तानिने भएपछि कायस्थमाथि अनुसन्धान नै हुन सकेन ।

कायस्थले एयरपोर्टमा रहँदा गोरेको सूचनाको आधारमा युवतीहरूलाई नै सुराकी राखेर झण्डै ४० किलो सुन बरामद् गरेका थिए ।

जुन विषयमा अख्तियारले समेत अनुसन्धान गरेको थियो । बरामद् झण्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कायस्थले कमिसन खाएका थिए ।

तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग सेटिङ रहेका कारण कायस्थमाथि सुराकी प्रकरणमा पनि कुनै कारवाही नै भएन ।

Published : Monday, 2019 August 5, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया