पूर्वएमाले निकट तुलसीपुरका मेयरद्वारा रामदेव भेट्न सरकारी खर्च, कांग्रेसद्वारा प्रदर्शन

तुलसीपुर । दुईतिहाइको कम्युनिस्ट सरकारले सुशासन प्रबर्द्धन गर्न नसकेको आरोप लगाउँदै आएको नेपाली कांग्रेस दाङले तुलसीपुरमा प्रर्दशन गरेको छ ।

प्रत्येक व्यक्तिलाई प्यान नम्वर लिनुपर्ने व्यवस्था, रासायानिक मल, शान्ति सुरक्षा, भ्रष्टाचारलगायतको विरोध गर्दै आइतबार नेपाली कांग्रेस दाङले तुलसीपुरमा प्रदर्शन र नारावाजी गरेको हो ।

सरकारले सुशासन प्रबर्द्धन गर्न कमजोर भएको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेको जनाएको छ ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नारावाजी गर्दै तुलसीपुर बजारका बिभिन्न स्थानमा प्रदर्शन गरेका छन् । उनीहरूले टोलको परिक्रममा पछि तुलसीपुर उपमहानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका थिए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिले उपमेयर माया आचार्यलाई बिभिन्न मागसहित १२ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाएपछि वीपी चौकमा कोण सभा गरिएको थियो । नगर कार्यसमितिका कार्यबाहक सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कोण सभामा पूर्व सांसद गेहन्द्र गिरी, नेपाली कांग्रेस नेताहरू खिमप्रसाद खराल, शंकर गिरी, केशव आचार्य र नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तीले सम्बोधन गरेका थिए ।

उनीहरूले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारको विरोध गरे । उनीहरूले किसानलाई समयमै मल बीउ उपलब्ध गराउन पनि माग गरेका छन् ।

व्यक्तिगत प्यान नम्बर लिने व्यवस्था तत्काल खारेज गर्न पनि नेपाली कांग्रेस दाङले माग गरेको छ ।

नेपाली कांग्रेसका नेताहरूले महँगी नियन्त्रण गर्न नसकेको तथा सुशासन प्रबर्द्धन गर्न नसेको भन्दै विरोध जनाए ।

नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई टुरिस्ट मेयरको संज्ञा दिँदै नाराबाजी पनि गरेका छन् ।

उपमहानगरको गतिविधिभन्दा बढी समय विदेश र राजधानी केन्द्रित भएको आरोप लगाउँदै नेपाली कांग्रेस तुलसीपुर नगर समितिको आयोजनामा भएको विरोध र्‍यालीमा मेयर पाण्डेविरुद्ध मुर्दावादको नारा लगाइएको थियो ।

मेयर पाण्डे भारत भ्रमणमा छन् । बाबा रामदेवलाई भेट्न दलबलसहित मेयर पाण्डे भारतमा छन् । पूर्वएमाले पृष्ठभूमि भएका मेयर पाण्डेले तुलसीपुर उपमहानगरपालिकाको रकम खर्च गरेर बाबा रामदेवलाई भेट्न गएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

टुरिस्ट मेयर मुर्दावाद, उपमहानगरभित्र सुशासन कायम गर, विदेश सयर हैन नगरको विकासमा ध्यान देउभन्दै नेपाली कांग्रेस कार्यकर्ताले बजार परिक्रमा गरेका थिए ।

Published : Sunday, 2019 August 4, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया