कांग्रेसले अब नयाँ सदस्यता वितरण र नवीकरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको तयारी थाल्न विभिन्न कामहरूको सुरुवात गर्ने भएको छ ।

त्यसका लागि कांग्रेसले मंसिरभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्नेछ ।

नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको छ ।

नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए ।

सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच विधान अनुसार देशैभर अन्तरिम संरचना बनाउने, मंसिरभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यसपछि बस्ने केन्द्रीय समितिले महाधिवेशनको मिति तय गर्ने सहमति भएपछि कांग्रेसमा देखिएको विवाद तत्कालका लागि मत्थर भएको छ ।

सभापति देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ । सभापति देउवाले विधानमा भएको व्यवस्थाअनुसार नै एक वर्ष कार्यकाल थप गर्ने बताइसकेका छन् ।

कांग्रेसले १३औं महाधिवेशनका बेला बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गर्दै संघीय संरचनाअनुसार अन्तरिम संरचनाको कार्यलाई छिट्टै अघि बढाउनेसमेत निर्णय गरेको हो ।

विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने र आवश्यक पर्ने निर्दे्शिका केन्द्रीय कार्यसमिति बैठकमा पेश गरि पारित गर्ने निर्णय भएको छ ।

१३औं महाधिवेशनभन्दा अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेअनुसारकै क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने काम मंसिर मसान्तभित्र सक्ने कांग्रेसको तयारी छ ।

कांग्रेसमा अहिले चार लाख ७० हजार क्रियाशील सदस्य छन् ।

क्रियाशील सदस्यता अद्यावधिकपछि बस्ने बैठकले महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सहमति नेताहरूबीचमा भएको छ ।

कांग्रेसमा मिलेको नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना पनि छिट्टै समाधान गर्ने उपसभापति विमलेन्द्र निधि संयोजकत्वको सांगठनिक संरचना समायोजन समितिको तयारी छ ।

उपसभापति विजयकुमार गच्छदारले दुई सय महासमिति सदस्य लिएका थिए ।

उनले २५ हजारभन्दा बढी पार्टी कार्यकर्ताको नाम दिएका छन् । त्यसबारे कांग्रेसले छानबिन गरिराखेको छ ।

Published : Sunday, 2019 August 4, 2:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया