गुट र झगडाले कांग्रेस कमजोर, शीर्ष नेताहरूलाई सुध्रिन चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छुक संस्थाका वर्तमान तथा पूर्वअध्यक्षले गुट र झगडाले पार्टी कमजोर बनेको भन्दै नेतृत्वलाई सच्चिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसनिकट प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरिएको अन्तरक्रियामा एक दर्जनभन्दा बढी वक्ताले कांग्रेस प्रतिपक्षीजस्तो नभई सत्तापक्षकै भूमिकामा रहेको भन्दै नेताहरूको आलोचना गरेका हुन् ।

उनीहरूले सत्तामा जाने लोभ र मोह नत्यागेसम्म कांग्रेस नसुध्रिने बताए ।

नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खडका, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, बद्री पाण्डेलाई नेतृत्वले पार्टी नभएर गुट चलाएको, प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको, सामान्य विषयमा पनि नेताहरूले झगडा गरेको भन्दै पार्टी्भित्रका बेथिति सुनाएका थिए ।

अधिकारवादी नेता कपिल श्रेष्ठले नेपाली कांग्रेसले इमेज जोगाउन नसक्दा कम्युनिस्ट वर्चस्व बढेको बताए । उनले एकले अर्कोलाई देख्न नसक्ने अवस्था रहेको भन्दै यस्तो नेतृत्वले पार्टी अघि नबढ्ने उल्लेख गरे ।

इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले भने, ‘यही पाँच वर्षभित्र नेकपा फुटेर फेरि सत्तामा जान पाइन्छ भन्ने नेतृत्वमा भाइरस छ, ।’

उनले भने, ‘सत्ताको भाइरस नेतृत्वमा रहेसम्म पार्टीको उत्थान हुँदैन ।’ श्रेष्ठले सत्तामै जाने लोभमा चितवनमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी छोरीलाई भोट हाल्न लगाइएको आरोप लगाएका छन् ।

शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीले नेपाली कांग्रेस विघटनको संघारमा पुगेको बताए । ‘यस्तै पाराले नेतृत्व अघि बढ्ने हो भने महाधिवेशन होइन, पार्टी विघटनका लागि कांग्रेस कार्यकर्तालाई भेला गरौं,’ उनले भने ।

चिकित्सक संघका पूर्वअध्यक्ष आनन्दप्रसाद श्रेष्ठले नेताहरूले मनलाग्दी गुट चलाउन थालेपछि भारतीय कंग्रेस आईको हविगत हुने बताए ।

‘जल्दाबल्दा समस्या कांग्रेसले उठाउन सकेको छैन, दुईरचारवटा प्लेकार्ड बोकेर हिँड्नेबाहेक सशक्त आन्दोलन गर्न सकेको छैन,’ उनले भने, ‘प्रतिपक्षको भूमिका कांग्रेसले निर्वाह गरेको छैन ।’

सरकारले काण्डैकाण्ड मच्चाउँदासमेत नेतृत्व चुप लागेर बसेको भन्दै इन्जिनियरिङ संघकै अर्का पूर्वअध्यक्ष ध्रुवबहादुर थापाले नेतृत्वलाई सच्चिन बुद्धि आओस् भनेर पशुपतिनाथसँग प्रार्थना गर्नुबाहेक विकल्प नभएको बताए ।

इन्जिनियरिङ संघका अर्का पूर्वअध्यक्ष किशोर शाक्य, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय शेरबहादुर केसी र प्रेमबहादुर खडका, चिकित्सक भोजराज जोशी, प्राध्यापक संघका पूर्वअध्यक्ष रामेश्वर उपाध्याय, डा. चोपलाल भुसाल, पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धमेन्द्र झा, सुरेश आचार्य, समाजका अध्यक्ष केदारनरसिंह केसीलगायतले गुटबन्दी अन्त्य गर्न र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

Published : Saturday, 2019 August 3, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया