शेरबहादुर र रामचन्द्रलाई गाली गरेर कांग्रेस बलियो बन्दैनः महेन्द्र यादव

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलको पूर्वअध्यक्ष महेन्द्र यादवले आन्तरिक लोकतन्त्रिक पार्टी विश्वमा कोही पनि नरहेको बताए ।

नेपाल तरुण दल भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर १० को नलिनिचोकमा शनिबार नयाँ कार्यसमिति बनाउने क्रममा निर्देशन दिँदै नेता यादवले भारत, चीन, अमेरिकासहितका देशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नरहेको बताए । उनले नेपाली कांग्रेसभित्र लोकतन्त्र रहेको बताए ।

‘जय नेपाल’ भन्ने नेपाली कांग्रेसलाई कम्युनिस्टहरूले राष्ट्रवादी नभएको भ्रम जनतामा छरेर हिँड्ने गरेको नेता यादवले बताए । जनतालाई कम्युनिस्टहरूले राष्ट्रवादी भनेर चुनाव जितेको उनले बताए । ‘जनु दिन केपी ओली र प्रचण्डले जय नेपाल भन्छन् त्यो दिन म उहाँहरूको पार्टीमा जान्छु’, उनले भने, ‘केपी ओली र प्रचण्डले जय नेपाल भन्न सक्छन् ? जसले जय नेपाल भन्न सक्दैन त्यो राष्ट्रवादी भएको छ । जसले स्थापनाकालदेखि जय नेपाल भनेको छ । मर्न तयार छ त्यो पार्टीलाई अराष्ट्रियवादी पार्टी, भारतीय पार्टी भनेर हामीलाई बिल्ला भिराइदिएको छ ।’

‘युवा र तरुणहरूले यो कुरा बुझ्नुपर्नेछ । आज भ्रमको राजनीति भइरहेको छ । झुठो सूचना सम्प्रेषण भइरहेको छ’, उनले भने, ‘केपी ओली, प्रचण्ड, महेश बस्ने, नेमकिपाका नेताहरूले किन जय नेपाल भन्दैनन् ? यो कुरा गाउँ, वडा र घरघरमा पु¥याउनु पर्छ । उनीहरूले सिङ्गो नेपालको जय भन्न सक्दैनन् ।’

‘सभापति शेरबहादुर देउवाले भन्नुभएको थियो कम्युनिस्टको शासन आएपछि न रुन सकिन्छ । न हाँस्न सकिन्छ’, उनले भने, ‘अहिले कम्युनिस्टको शासन छैन । कम्युनिस्टको सरकार मात्रै छ । अहिले लोकतान्त्रिक शासन व्यवस्था छ ।’ नेपाली कांग्रेसका नेता यादवले कम्युनिस्टहरू कहिल्यै पनि राष्ट्रवादी हुन नसक्ने बताए ।

‘केपी ओली भारत जाँदा अरुण थ्री बुझाएर आउनुभयो । विना प्रतिस्पर्धा इण्डियालाई दिनुभयो । चाइना जानुभयो बुढीगण्डकी बुझाएर आउनुभयो । बुढीगण्डकी योजनाको लागि नेपालीहरूले बीस अर्व रुपियाँ जम्मा गरेका छन् । तर बुझाएर आउनुभयो’, नेपाली कांग्रेसका नेता यादवले भने, ‘जसले ईण्डिया र चाइनाको तावेदारी गर्छ । जसले आफ्नो देश बनाएको छैन । अनि त्यो राष्ट्रवादी ?’

नेता यादवले भने, ‘जनकपुरमा नरेन्द्र मोदी आउनुभएको थियो । विदेशी प्रधानमन्त्रीलाई स्वागत गर्दा खेरी नेपालको टोपी तल राखेर अनि विदेशीको टोपी लगाएर केपी ओलीले जनकपुरमा नरेन्द्र मोदीलाई स्वागत गर्नुभयो ।’

‘ओलीले नेपाली टोपी तल राख्नुभयो । राजिस्थानको टोपी टोपी लगाउनुभयो’, उनले भने, ‘त्यसपछि स्वागत गर्नुभयो । राष्ट्रवादी ओलीको सबै कुराको भण्डाफोर भएको छ ।’

प्रधानमन्त्री ओलीले संघीयता फाल्न खोजेको आरोप लगाए । भ्रष्टाचार गरेर नेपालबाट संघीयता फाल्न खोजेको आरोप उनले लगाए । ‘प्रदेश सरकारले भ्रष्टाचार गरेर संघीयताको बदनाम गर्न लागेको छ । केपी ओली संघीयता विरोध काम गर्दै आउनु भएको छ’, उनले भने, ‘नेपाली कांग्रेसलाई संघीयता विरोधी देखाउन ओली लागेका छन् ।’

‘दुईतिहाइको बलमा अहिलेको कम्युनिस्टको शासन होइन । कम्युनिस्ट व्यवस्था ल्याउन खोजेको छ’, उनले भने, ‘मिडिया काउन्सिल विधेयक, फोन टेपिङ विधेयक । सबै गोप्य सूचना सरकारमा जान्छ । संविधानले सूचना र गोपनीयताको हक दिएको छ । तर सरकारले यो विधेयक ल्याउँदै छ । केन्द्रीय कार्यसमिति बैठकमा बालकृष्ण खाँणले भन्नुभयो । भयावह अवस्था आउँदै छ ।’

उनले ओलीले जस्तो तराईमा गएर पहाडे र पहाडमा गएर मधेसीलाई नेपाली कांग्रेसले कहिल्यै पनि गाली नगरेको बताए ।

‘राष्ट्रिय सुरक्षा परिषदले पहिला सेना परिचालन गर्थ्यो । प्रधानमन्त्रीले एक्लै सेना परिचालन गर्ने व्यवस्था गरिँदै छ । यस्तो व्यवस्था क्युबा र चाइनामा छ । कम्युनिस्ट भएको देशमा यस्तो छ । कम्युनिस्ट व्यवस्था ल्याउँदै छ’, नेपाली कांग्रेसका नेता यादवले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य यादवले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई गाली गरेर पार्टीको संगठन नबन्ने बताए । ‘तरुण साथीहरूले एउटा कुरालाई विशेष रुपमा ध्यान दिनुपर्छ । हाम्रो नेता शेरबहादुर पनि हो । रामचन्द्र पनि हो । दुइटै नेता खारिएको नेता हो । दुइटै दुःख गरेका नेता हुन्’, उनले भने, ‘चियापसल, चोक चौराहमा कसैले शेरबहादुर देउवा खराब छ भन्छन् भने त्यसको पनि कठालो समात्नुस् । कसैले रामचन्द्र खराब छ भन्यो भने त्यसको पनि कठालो समात्नुस् ।’

‘अहिले समकालीन नेता केपी ओली, प्रचण्ड, रामचन्द्र, शेरबहादुर, नारायणमान हो वा अरु कुनै होस् सबैभन्दा लोकतन्त्रको लागि दुःख गरेको राष्ट्रवादी नेता शेरबहादुर र रामचन्द्र हो । यो दाँजोमा कोही पनि छैन’, नेता यादवले भने, ‘वीपी, किशुनजी, गणेशमानजी, गिरिजाबाबुलाई पनि हामीले अहिले ल्याउन सक्दैनौँ’, उनले भने, ‘सबैभन्दा बढी जेलनेल गएको, लोकतन्त्रको लागडि लडेको नेता भनेको शेरबहादुर र रामचन्द्र नै हो । अरु कोही पनि होइन ।’

उनले भने, ‘शेरबहादुर र रामचन्द्रले राजा पनि हटाए, लोकतन्त्र पनि संस्थागत गरेका छन् । संविधान दिएका छन् । हाम्रो नेतामाथि शंका पनि गर्नु हुँदैन । हामीले कमजोर पनि गराउनु हुँदैन । शेरबहादुर र रामचन्द्रलाई गाली गरेर कांग्रेस बलियो हुन्छ भनेर कसैले सोँचेको छ भने त्यो गलत सिद्धान्त हो ।’

नेता यादवले केन्द्रीय कार्यसमितिमा सबै नेताहरू एक ढिक्का भएर छलफल चलेको भन्दै विचारको मन्थन गरेर निर्णय गरिएको बताए । उनले बहुमतबाट निर्णय नगरिएको बताए ।

कम्युनिस्टहरूमा जस्तो कांग्रेसभित्र नभएको यादवले बताए । नेकपाका नेता भीम रावलले ओलीलाई गद्धार भनेका छन् ।

वाइडबढीदेखि फोरजीमा भ्रष्टाचार भएको भन्दै नेता यादवले वर्तमान सरकार भ्रष्टाचारी भएको बताए । उनले नेपाली कांग्रेसको बिकल्प नरहेको बताए ।

‘भक्तपुरमा प्रदेश सभाको उपनिर्वाचन जिताउन सक्नु भएन भने नेपाल तरुण दल र नेपाली कांग्रेसको कुनै दम हुनेछैन’, उनले भने, ‘टिकटका लागि बरु आजैदेखि पहल गर्नुस् । जसले टिकट पाउँछ उसैलाई सहयोग गर्नुपर्ने बताए । आधिकारिक उम्मेदवारलाई हराउन खोज्नेलाई बोरामा हालेर खोलामा लगेर बगाउनुस् ।’

राष्ट्रिय जागरण राम्रो भएको भन्दै उनले भने, ‘हाम्रो टेष्ट उपनिर्वाचन हो । नेपाली कांग्रेस एकजुट भएर जिताएर कम्युनिस्टहरूलाई थप्पडा हान्नु पर्ने भएको छ ।’

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले तरुण दलमा आकर्षण बढेको बताए । ‘भक्तपुरमा तरुण दलमा तरुणमा आकर्षण बढेको छ’, उनले भने, ‘भक्तपुरका नेकपाका साथीहरू स्वर्ग जाने अवस्था नआओस् । अब तीन वर्षभित्र स्वर्ग जाने बाटो बन्दै छ । भ्रष्टाचारीलाई पुनः भक्तपुरमा जितायौँ भने फेरि बितण्डा सिर्जना हुन सक्छ ।’

‘राताराता जग्गा दलाल, भू–माफियासँग मिलेर, किसानका जग्गा कब्जा गर्ने रणनीति बनेको थियो’, सभाति थापाले भने, ‘राजनीति व्यापार पनि बनेको छ ।’ प्रतिनिधि सभामा जितेका नेकपाका सांसद महेश बस्नेतले जग्गा दलालसँग मिलेर जग्गा प्लटिङ गरेर रातारात कमाइ गरेको बताए ।

‘सूर्यविनायकमा चप्पल पड्काएर हिड्नेहरू रातारात धनी बनेका छन् । रंगशाला बनाउने कुरा गरेर जग्गाको मूल्य बढाइएको छ’, उनले भने ।

‘तपाईहरू तरुण दलमा लाग्दै गर्दा तपाईहरूको वरीपरी युथ फोर्स र युवा संघमा लागेका केही साथीहरू अलिक ठूलो गाडी चढ्ने भएका होलान् । पल्सर मोटरसाईकल चढ्ने भएका होलान् । यहाँ कसैले प्लानिङ गरेको ठाउँमा आएर तर्साएर, धम्की गरेर केही पैसा लिन युवा संघ र वाइसियालका साथीहरूले पल्सर मोटरसाइकल चढे म पनि तरुण दलमा लागेर केटिएम ड्युक चढ्छु भन्ने ठानेका त्यस्ता साथीहरूलाई तरुण दलमा हामीले निषेध गरेका छौँ’, सभापति थापाले भने, ‘त्यसको मतलव त्यो पनि होइन तरुण दलमा लागेका साथीहरूले आफ्नो उन्नती र प्रगति गर्नको लागि आफ्नो पढाइ र आफ्नो उद्योगधन्दा कलकारखाना सञ्चालन गर्नको लागि कहिँ कतै युवा संघ र युथ फोर्सका युवा आएर धम्की र तर्सा दिन्छन् भने त्यसका विरुद्ध तरुण दलका साथीहरू त लाग्नु हुनेछ सिंगो पार्टी सभापतिको हैसियतले तपाईहरूको सबै काम पढाइ लेखाइदेखि उद्योग धन्दा व्यापारमा कसैले धावा बोल्छ भने त्यसको विरुद्धमा केपी ओलीले भनेको अरिँगाल होइन हामी, स्याल बनाएर लखेट्ने छौँ हामी ।’

‘तरुण दल र तपाईहरूप्रतिको आकर्षण भक्तपुर कांग्रेसको सभापतिको हैसियतले मैले लिनेछु । हामी कहाँ आयौँ र कहाँ आएर अलमलियौँ भनेर सोँच्नु पर्ने छैन’, थापाले भने, ‘पार्टी र घरको ढोका तपाईहरूका लागि चौबीसै घण्टा खुला छ । समयमा अधिवेशन हुन नसक्दा युवा संघ र वाइसियलमा गए । ती साथीहरू तरुण दलमा फर्किन आह्वान गर्छु ।’

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, पूर्वसांसद एवम् राज्यमन्त्री कन्चनचन्द्र वादे, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले तरुण दललाई कमजोर नठान्न चेतावनी दिए ।

उनीहरूले भक्तपुरमा तरुण दलले संगठनलाई बलियो बनाउन सक्रिय भएकोमा बधाइ र धन्यावाद दिएका छन् ।

नेपाल तरुण दल भक्तपुरले दुई वटा नगरपालिकाका सबै वडाहरूमा वडा कार्यसमिति बनाएको छ । बाँकी रहेका वडाहरूमा निरन्तर संगठन बनाइनेछ ।

Published : Saturday, 2019 August 3, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया