नेकपाभित्र पद, पावर र पैसा हाबी भयोः नारायणकाजी श्रेष्ठ

गोरखा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पद, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गोरखामा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीभित्र वैचारिक र सांस्कृतिक बहस जरुरी रहेको बताए । उनले पार्टीमा चरम व्यक्तिवाद प्रवृत्ति हावी हुँदै गएको बताए । पार्टीको आन्तरिक स्वच्छता कमजोर हुँदै गएको उनको बुझाइ थियो ।

कम्युनिष्ट पार्टीभित्र दुइटा विकृति हावी हुँदै गएको भन्दै श्रेष्ठले भने, ‘पद, शक्ति र पैसाका लागि जे पनि गर्ने संस्कार विकसित हुँदै गएको छ ।’

‘कम्युनिष्ट आन्दोलनमा दुइटा विकृति झाँगिएको छ, पद्धतिका हिसाबले जनवादी केन्द्रीयताको अभ्यास हुँदैन’, उनले भने, ‘चरम व्यक्तिवाद छ, स्वच्छताको हिसाबले स्वच्छता कमजोर हुँदै गएको छ, चरम भ्रष्टीकरण छ ।’

उनले भने, ‘विकासका कुरा गर्दा पीपीपी हुन्छ, पब्लिक प्राइभेट पार्टनरशिप । अहिले हाम्रो कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीमा पीपीपी अर्को रुपमा लागू हुन थालेको छ, पोस्ट, पावर र प्रपर्टी, यो तीनवटाको निम्ति जे पनि गर्ने ।’

कम्युनिष्ट पार्टीभित्र वैचारिक र सांस्कृतिक रुपान्तरण जरुरी रहेको भन्दै प्रवक्ता श्रेष्ठले वैचारिक, सांस्कृतिक समस्या हल नगर्ने हो भने तात्कालीक र रणनीतिक दुवै लक्ष्य पूरा हुन नसक्ने बताए ।

पुँजीवादी संसदीय व्यवस्था वा शान्तिपूर्ण प्रतिस्पर्धात्मक संसदीय अभ्यासमध्ये एउटा छनौट गर्नुपर्ने अहिलेको अवस्था रहेको उनले बताए ।

तत्कालका लागि भने शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटोलाई तत्काल अंगीकार गर्नुपर्ने श्रेष्ठले बताए । वैचारिक रुपमा स्पष्ट नहुने हो भने कम्युनिष्ट पार्टीहरू पनि कांग्रेसकै बाटोमा जान सक्ने नेकपा प्रवक्ता श्रेष्ठले बताए ।

‘हाम्रो पार्टी र हाम्रो आन्दोलनलाई ठूलो दाई कांग्रेस बनाउन खोजेको हो कि, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन खोजेको हो स्पष्ट हुनुपर्छ’, उनले भने, ‘हामी कम्युनिष्ट पार्टीलाई, क्रान्तिकारी पार्टीका रुपमा जनताले जिताएर झण्डै दुईतिहाइ नजिकको मत दिएर सरकारमा पुराएका हुन्, हाम्रो सम्पूर्ण नीति र आचरणले हामीलाई दाई कांग्रेस बनाउँनु हुँदैन ।’

नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक प्रतिवेदनले पनि सबै कम्युनिष्ट पार्टीलाई एक ठाउँमा उभिने वातावरण बनाउने प्रवक्ता श्रेष्ठले बताए । उनले २००६ सालमा बनेको कम्युनिष्ट पार्टीलाई राजनीतिक र वैचारिक हिसाबले पुनर्गठन गर्नुपर्नेमा बताए ।

Published : Saturday, 2019 July 20, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया