सहकारी ठग बचाउन प्रचण्ड-ओली-देवराजले हदपार गरेपछि कांग्रेसले बोलायो संयुक्त बैठक

काठमाडौं । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर संसदीय मर्यादा विपरित विश्वासको मत लिएपछि पछिल्लो घटना क्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बोलाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् । देउवाले जेठ ९ गते बुधबारका दिन बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने गरी केन्द्रीय समिति र केन्द्रीय संसदीय दलको संयुक्त बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएपछि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।

आइतबार गृहमन्त्री लामिछानेको सम्बोधन र सोमबार प्रतिनिधिसभामा प्रतिपक्षको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएकोप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस नेताहरूमाथि गृहमन्त्री लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकाप्रति समेत प्रश्न उठाएको छ । घिमिरेले एमालेका अध्यक्ष केपी ओलीको आदेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई पेलेर संसदको बैठक अगाडि बढाएको भन्दै विरोध भइरहेको छ ।

केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकबाट कांग्रेसले भावी रणनीति बनाउनेछ । कांग्रेसले आगामी बजेट ल्याउन दिने वा नदिने के गर्ने भन्ने विषयमा पनि छलफल गर्नेछ ।

Published : Monday, 2024 May 20, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया