पत्नीलाई खुसी बनाउन आईफा अवार्ड, ओली-सुरजकाे खुल्याे पाेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका अघोषित सल्लाहकार जस्तै छन् ।

विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । तिनै रितु सिंहको सल्लाहमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले नै गरेका थिए ।

बैद्यले आफ्नी पत्नीलाई खुसी बनाउन आईफा अवार्डको प्रस्ताव ओली समक्ष राखेर कन्भिन्स गरेको स्रोतले जनाएको छ । ओलीले अझैपनि आईफा अवार्ड नेपालमा गराउने बताउँदै आएका छन् ।

भारतीय कलाकार ल्याएर अनाहकमा एक अर्ब नेपालको बजेट खर्च गर्दा नेपाललाई के फाइदा हुन्छ भन्ने कुरा समेत ख्याल नगरी प्रधानमन्त्री ओलीलाई विवादमा ल्याउने काम बैद्यले गरेका थिए ।

आईफा अवार्डलाई एक अर्ब दिने कुराको चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पछि हटेका छन् । आईफा अवार्ड तत्काललाई नहुने भएपनि व्यपारी बैद्य भने अझै त्यो अवार्ड गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई पुनः विवादमा ल्याउन खोजिरहेका छन् ।

एक अर्ब रुपैयाँले ८ मेगावाटको सम्मको जलविद्युत आयोजना बन्न सक्छ । त्यसबाट राष्ट्रलाई दिर्घकालिन फाइदा हुन्छ । त्यसैगरी व्यापारी बैद्यले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारी देशहितविरुद्धका निर्णय गराउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले पर्यटनको क्षेत्रमा कुनै योगदान र अनुभव नभएका बैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजक बनाएका छन् ।

२० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना अगाडि सारेका प्रधानमन्त्री ओलीले पर्यटनको ‘प’ पनि थाहा नभएका बैद्यलाई संयोजक बनाएका छन् । यसले प्रधानमन्त्रीको २० लाख पर्यटक भित्र्याउने योजना पूरा हुनेमा आशंका प्रकट गरिएको छ ।

प्रतिष्ठित पर्यटन व्यवसायीहरु हुँदाहुँदै बैद्य जस्ता पर्यटनको क्षेत्रमा योगदान नै नभएका व्यक्तिलाई संयोजक बनाएकोमा असन्तुष्टि व्याप्त छ । भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी छ ।

तर, तयारी सुन्य छ । पर्यटक आकर्षित गर्ने व्यवसायीहरुसँग बैद्यको कुनै खालको समन्वय छैन । उनी कसैलाई चिन्दैनन् । प्रधानमन्त्रीले बैद्य जस्तालाई संयोजक बनाएपछि भ्रमण वर्ष पनि असफल हुने चिन्ता पर्यटन क्षेत्रमा व्याप्त छ ।

बैद्यको सल्लाह मान्दा प्रधानमन्त्री ओली एकपछि अर्को विवादमा पर्दै गएका छन् । बैद्यकै सल्लाहमा नेपाल वायु सेवा निगमका लागि चिनियाँ जहाज ल्याइयो । तर, ती जहाज उडाउनै नसक्ने अवस्थामा छन् ।

ती जहाज यति खर्चिला रहेछन् कि निगमलाई सेतो हात्ती सावित भएका छन् । बैद्य प्रधानमन्त्री ओलीका सल्लाहकारकै हैसियतमा बालुवाटारमा हैकम जमाएर बसेका छन् ।

आङछिरिङ शेर्पाको मृत्युपछि व्यापारी बैद्य प्रधानमन्त्री ओलीमाथि हावी भएका छन् । बैद्यकै कारण आईफा जस्तो अलोकप्रिय निर्णय गर्दा प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन् । यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 July 18, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया