यो सरकार कहाँबाट नियन्त्रित छः राजकिशोर यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले सर्लाहीमा कुमार पौडेलको हत्या कसरी भयो ? कसको निर्देशनमा किन भयो ? भन्दै त्यसको कारण चाहियो भनेका छन् ।

संसदको मंगलबारको बैठकमा सांसद यादवले शुरुमै समय लिएर बोल्दै भने, ‘त्यो घटना मात्र होइन, अस्ति १४ गते सर्लाहीको ईश्वरपुरमा १२ वर्षीय बच्चा अमित राय जो असल नागरिक भई देशको सेवा गर्नसक्थे । तर माफियाको षड्यन्त्रमा डुबेर मर्छ ।’

‘राज्यलाई गुहार्दा राज्यको पनि उपस्थित देखिँदैन । १२ घन्टापछि जिल्लाका एसपी त्यहाँ पुग्छन् र भन्छन् तिमी आफ्नो बच्चालाई निकाल्ने हो भने दमकल लगाएर निकाल, निकाल्ने अरू कुनै उपाय छैन भन्छन्’, राजपाका सांसद यादवले भने ।

‘बच्चाको शव निकालिसकेपछि अर्को दिन त्यहाँ स्थानीय जनताले हकअधिकारको सुरक्षा गर, हामीमाथि अन्याय, अत्याचार भयो, सरकारबाट हामी प्रताडित भयौँ भनी अवाज बुलन्द गर्दा गोली हानी मारिन्छ’, उनले भने, ‘सरोजनरायण सिंहको हत्या पनि यही कारण भयो । हामी जनताका प्रतिनिधिले जनता पीडा बारम्बर राखिरहेका छौँ । तर सदन संवेदनशील भइरहेको छैन । यो सदन संवेदनशील छैन या यो सदनको नियन्त्रणभन्दा सरकार बाहिर छ ।’

‘यो सरकार कहाँबाट नियन्त्रित छ । एक महिनामा सर्लाहीमा नश्लीय चरित्रको मानवता विरोधीको घटना हुन्छ’, यादवले भनेका छन्, ‘हामीलाई जानकारी भएअनुसार त्यहाँका सीडीओ, एसपीले माफियाबाट पैसा लिएर कुमार पौडेलको हत्या भयो ।’

‘जातीय नरसंहारको नाममा सरोजनारायण सिंहको हत्या गरिएको छ । के यो राज्य साँच्चै जातीय नरसंहार गर्न उद्यत हो । त्यो एसपीले ‘आई एम द स्टेट’ मनोविज्ञानबाट काम गर्दैछ’, राजपाका सांसद यादवले भने, ‘अहिलेसम्म गृह प्रशासनले त्यो एसपीलाई एक शब्द पनि सोधेको छैन । न स्पष्टीकरण लिएको छ न त कारबाहीको दायरामा ल्याएको छ ।’

उनले भनेका छन्, ‘के हामी टुलुटुलु हेरेर बस्ने ? यहाँ घटना भइरहने, जनता रोई कराई गरिरहने । जनताले कुरा उठाउँदा सरकारका अरिङ्गालहरु, सरकारका वरिपरि भएका मान्छेहरु, विरोधका लागि मात्र रचिएको विरोध भन्छन् । खिसियानी बिल्ली खम्बा नोचे जस्तै भएको छ । सरकारले आफ्नो काम के गर्दैछ, त्यसको जवाफ दिएको छैन ।’

‘सरकार जनताप्रति उत्तरदायी नहुने उल्टै जनतालाई गैरजिम्मेवारी ढङ्गले होच्याउने ढङ्गले निम्छरा, छाडा र छौँडा भनेर गालीगलौज गर्छ’, उनले भनेका छन्, ‘हामी कस्तो परम्परा लोकतान्त्रिकको अभ्यास गरिरहेका छौँ ? यदि यसरी नै सरकार सञ्चालन गर्ने हो भने बाध्य भएर हामीलाई धेरै कुराको सीमा नाघेर केही गर्नुपर्ने अवस्था सिर्जना नहोस् भनी सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’

‘मधेसी जनतालाई हत्या गरेर, जनसंख्याया कम गरेर, सरकरलाई दमन गरेर शासन गर्छु भनी कुचेष्टा छ भने हामी यहीँबाट चुनौती दिन चाहन्छौँ, हामी त्यस्ता चुनौतीलाई सामना गर्न तयार छौँ’, राजपाका सांसद यादवले भनेका छन्, ‘राज्य नश्लीय नंरसहार र जातीय नरसंहार गर्न थालेको छ । हामी त्यसको जवाफ दिन तयार छौँ ।’

उनले भनेका छन्, ‘हामीले ल्याएको अधिकार कटौती गरिन्छ र उल्टै संविधानको शपथ खाएका मन्त्री संविधानविरुद्ध अभिव्यक्ति दिइन्छ । लोक सेवा आयोगले गरेको विज्ञापन के हो ? त्यसका स्पष्टीकरण दिनुपर्छ कि पर्दैन ? हामीले लडेर ल्याएको संविधानमा प्रदत अधिकार पनि खोस्ने ।’

‘एकपछि अर्को भ्रष्टाचारका काम, एकपछि अर्को गैरजिम्मेवारका काम हुँदैछन् । अब जनताले स्वच्छ, विषादीरहित तरकारी खान पाउनुपर्छ भन्नु न्यूनतम मौलिक अधिकार हो’, उनले भनेका छन्, ‘प्रधानमन्त्री भन्नुहुन्छ, मैले कुरै नबुझी ड्याङ्गै निर्णय गरिदिएँ । अर्को मन्त्रीले भन्नुहुन्छ, मैले पढ्दै नपढी हस्ताक्षर गरिदिएँ । अर्को मन्त्री भन्छ – अर्को मन्त्रालयबाट चिठी आएको आधारमा गरिदिएँ ।’

‘कोही ड्याङ्गै, कोही पढ्दै न पढी निर्णय गरेका छन् । यस्तै निर्णयहरु भइरहने हो भने कुनै दिन यो मुलुक अर्कैको नाममा भइदियो भने के नगर्ने ?’, उनले भने ।

‘यो के भइरहेको छ ? बारम्बर मैले यो सदनप्रति सरकार जवाफदेही हुने कि नहुने भनेर निवेदन गरेँ । सरकार जनताप्रति जवाफदेही हुने कि नहुने ? अहिले गम्भीर प्रश्न उब्जिएको छ । चौतर्फी आलोचना भइरहेको छ’, उनले भनेका छन्, ‘त्यो आलोचनालाई सकारात्मक रूपमा लिएर समाधान नगर्नुको साटो जुन प्रकारको चरित्र प्रदर्शन भइरहेको छ, त्यसले कही लगिदैन । यो ‘विनाश काले विपरीत बुद्धि’ भन्छन्, अहिलेको स्थिति त्यस्तै निर्माण भइरहेको छ ।’

उनले भनेका छन्, ‘लाल आयोगको बारेमा हामीले बारम्बार सदनमार्फत सरकारलाई घचघच्याइ रह्यौँ । अहिलेसम्म सरकार कानमा तेल हालेर सुतेको छ । यो सरकारलाई लाग्दो होला राजपाले अवाज उठाउँदैमा के हुन्छ र ? आज सर्लाही घटनाको बारेमा सत्यतथ्य किन बाहिर आएन ? हत्या भयोे, त्यो एसपीलाई हत्या गर्न यहाँबाट निर्देशन दिएर पठाएको हो या सरकारका पाल्तुको रूपमा त्यहाँ पालिएको हो । त्यसको सत्यतथ्य जानकारी हुनुपर्‍यो ।’

सांसद यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन भने सदनको अर्को बैठक अवरोध गर्ने चेतावनी दिएका छन् ।

‘सर्लाही घटनाको बारेमा एउटा न्यायिक छानबिन आयोग निर्माण गरेर वास्तविक दोषी पत्ता लगाएर न्यायको कठघरामा उभ्याउन माग गर्दछौँ’, उनले भनेका छन् ।

Published : Wednesday, 2019 July 10, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया